चितवन, २२ साउन/रासस

नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमवार साँझ छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने, “स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्याङ्कन गरेर जङ्गलमा छाडिएको हो ।”

उनका अनुसार बाघ बूढो भएर शिकार गर्न नसक्ने भएमा नरभक्षी हुन सक्छ । बाघ बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनको भनाइ छ । रातको समयमा बाघ सक्रिय हुने र जङ्गल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुन सक्ने अनुमान गरिएको छ । बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजीकैको नरकट घारीमा लुकेको थियो । आइतवार बिहान घटना भएकामा साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो ।

बाघ अन्दाजी पाँच/छ वर्षको भाले हो । उद्धार गरिएको बाघ बूढो भए उसले प्राकृतिकरूपमा सिकार गर्न नसक्ने आधारमा खोरमैं राख्ने गरिन्छ । निकुञ्ज क्षेत्रमा खोरमा अहिले छवटा बाघ रहेका छन् । जसमध्ये दुईवटा देवनगरमा, तीनवटा कसरा र एउटा सौराहामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here