पर्सा, २० साउन/रासस
मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज हुँदै आयात गरिने खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगंज नाकाबाट खाना पकाउने ग्याँसको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।
आव २०७९/८० मा वीरगंज नाका प्रयोग गरी रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार २८७ मेट्रिकटन खाना पकाउने ग्याँस आयात गरिएको बताउँदै वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्याँस आयात भएको जानकारी दिए । उनका अनुसार अघिल्लो आवभन्दा ११ हजार २३८ मेट्रिकटन कम ग्याँस आयात भएको हो ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिल्लो आवमा वीरगंज नाकाबाट रु १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार १४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा रु १८ अर्ब २१ करोडको एक लाख ७३ हजार ४८४ केल आयात भएको छ ।
सूचना अधिकारी कर्णले खाना पकाउने ग्याँस र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगंज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिए ।
आव २०७९/८० मा रु एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५०६ केल डिजल र रु ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार ७११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा रु एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार ५२० केल डिजल र रु ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार ७२३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगंज नाकाबाट हुने गरेको छ । े