प्रस, जनकपुरधाम, १९ साउन/
उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बताएका छन्।

विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन शनिवार प्रदेश राजधानी जनकपुर पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले प्रदेशस्थित उद्योग तथा वाणिज्य क्षेत्रको विकास गर्दै व्यवसायीको उत्साह बढाउन प्रदेश सरकार सधै लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा गर्नेबारे सङ्घ सरकारसँग छलफल गरिने आश्वासन दिंदै उनले सो सम्बन्धमा प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेको बताए।

मुख्यमन्त्री सिंहले उद्योगको आवश्यकता र अपेक्षा अनुसार दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकारले सीपमूलक तालीम दिने योजना बनाइरहेको जानकारी दिंदै उद्योगका लागि आवश्यक कच्चा पदार्थ नियमित र सहज रूपमा आपूर्तिको व्यवस्था गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए।

प्रदेश सरकार ई–गभर्नेन्समा जान लागेको जानकारी दिंदै मुख्यमन्त्री सिंहले वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्न प्रविधिसँग जोड्ने तयारी भइरहेको बताए।

बारा र पर्साका उद्योगी, व्यापारीको प्रतिनिधित्व रहेको महासङ्घको मधेस प्रदेश टोलीले प्रदेशको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग क्षेत्रका चुनौती र सम्भावनाका बारे मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएको थियो।

प्रतिनिधिमण्डलले जनकपुरधाम तथा मधेसको चौतर्फी विकासतर्फ जोड दिएका थिए। काठमाडौंस्थित श्रम अदालतको अधिकार प्रदेशको उच्च अदालतमा प्रत्यायोजन गर्न र वातावरणीय अध्ययन प्रतिवेदनका काम प्रदेश उद्योग विभागका महानिर्देशकले गर्नेगरी कानूनी व्यवस्थाका लागि टोलीले आग्रह गरेको थियो।

त्यसैगरी, कृषि क्षेत्र वर्गीकरण, केन्द्र सरकारको क्षेत्राधिकारमा रहेका खाद, बीउलगायत कृषिजन्य वस्तु प्रदेश सरकारमार्फत वितरण हुनुपर्ने, व्यावसायिक खेती र मूल्यमा आधारित कृषि वस्तुको अनुसन्धान गर्न राज्यले उत्प्रेरित गर्नुपर्ने, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन गरिनुपर्नेलगायत माग प्रतिनिधिमण्डलको थियो।

प्रतिनिधिमण्डलले मुख्यमन्त्रीसमक्ष राखेका अन्य मागहरूमा धनुषाधामस्थित वन तथा मन्दिरको सौन्दर्यीकरण गरिनुपर्ने, १५ दिने परिक्रमाका तीर्थयात्रीको रात्रिबासको व्यवस्था, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, जनकपुरधाम–जयनगर रेलवेमा मालवाहक गाडीको व्यवस्था, प्रदेशका किसानलाई प्राविधिक ज्ञान तथा सीप सिकाउनुपर्नेलगायतका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here