काठमाडौं, १६ साउन/रासस
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म विशेषगरी रातको समयमा मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । तर केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि बुधवारदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आजदेखि नै शुक्रवार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए । “तीन दिनयताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ । तर सुधारात्मक बन्दै जानेछ,” उनले भने, “देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायःजसो रातको समयमा पानी बढी परेको हो ।”

महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।

बिहीवार दिउँसोमा भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखा अनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।

शुक्रवार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रवार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ ।

आगामी २४ घण्टामा कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here