प्रस, वीरगंज, १२ साउन/
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा मर्नु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय कार्यालयमा शनिवार नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथासङ्ग्रह लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताए। उनले भने, “अबको समय भनेको दीर्घ जीवनको समय हो, स्वास्थ्यका लागि थुप्रै उपचार उपलब्ध छन्।
अहिलेको युग उहिलेको जस्तो नभएको उनले बताए। उहिलेको जस्तो होइन, यहाँ धेरैलाई चिकित्साशास्त्र पढाइएको छ, अस्पताल खोलिएको छ, स्वास्थ्य उपकरणहरू किनेर ल्याइएको छ, औषधिहरू छन् भन्दै आफू इन्जिनको पार्टपुर्जा फेरे जस्तै दुईपटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको बताए। यी सबै विज्ञान प्रविधिको विकासका कारण भएको उनले जिकिर गरे।
उनले साहित्यकार नेत्रप्रसाद गौतम ८० वर्ष पूरा भएपनि अझै धेरै कृति लेख्ने विश्वास व्यक्त गरे।
नेपाली भूमि साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उनले बताए। प्रम ओलीले नेपाल ज्ञानको उत्पत्ति र विस्तार भएको ठाउँ रहेको दाबी गरे। अनुभवहरू परिष्कृत भएपछि ज्ञान बन्ने उनको भनाइ थियो।