प्रस, वीरगंज, १२ साउन/
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई असफल हुने छुट नभएको प्रस्ट बटमलाइन रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, कास्कीले शनिवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सबै विकल्प सकिएपछि संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाइएको प्रस्ट पारे।

उनले वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने बताए। उनले भने, “देशलाई अघि बढाउनु छ। जनतामा छाएको निराशा चिरेर उत्साहित बनाउनु छ। त्यो गर्ने भनेको कामबाटै हो। त्यस कारण देश बनाउने अठोटसहित गठन भएको वर्तमान सरकारलाई असफल हुने छुट छैन।” प्रधानमन्त्रीले पनि यस विषयमा हामीलाई स्पष्ट दिशानिर्देश गरेको उनले बताए।

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए। संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ। देशलाई अघि बढाउन मिल्नै पर्ने बाध्यात्मक अवस्थामा मात्रै दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने अवस्था हुन्छ। विगतमा पनि त्यही भयो। अहिले पनि हामीले यसलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरेका हौं, उनले प्रस्ट्याए।

उनले अहिलेको सरकार पनि असफल भए जनतामा चरम निराशा छाउने भएकोले कामको परिणाम ल्याउनै पर्ने अन्तिम विकल्पमा आफूहरू रहेको दाबी गरे। यो सरकार पनि असफल भए मूलधारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ। जनतामा बाँकी रहेको आत्मबल पनि सकिन्छ। त्यसैले अहिले रमाउने होइन, काम गरेर परिणाम दिने हो भन्ने साझा अठोट प्रधानमन्त्रीले गराएको उनको भनाइ थियो।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ, कास्कीकी अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here