अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिंदै आएका छन्। पछिल्लो एक वर्षमा मात्रै उनले ‘जारी’मा लिम्बू, ‘दयारानी’मा गुरुङ, ‘गाउँ आएको बाटो’मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गरे।
आउँदो शुक्रवार अर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घरज्वाइँ’मा उनले मगर समुदायको कथामा अभिनय गरेका छन्। उक्त चलचित्रको कथा आफूले मन पराएकी युवतीलाई पाउन विवाहपूर्व घरज्वाइँ बस्ने परम्परामा आधारित छ।
अभिनेता राई अभिनयकै सिलसिलामा भिन्न समुदायको संस्कृतिलाई नजीकबाट बुझ्न पाएको बताउँछन्। उनले भने, “नेपाल संस्कृतिमा धनी छ। तर हामीले आफ्नै परम्परालाई भुल्दै छौं। मैले अभिनयकै कारण केही समुदायको संस्कृति बुझ्न र बाँच्न पाएँ। आफूलाई भाग्यमानी ठान्छु। हामी अहिले समुदायको कथा भन्ने समयमा आएका छौं।”
चलचित्रमा विषयवस्तुसँगै प्रस्तुत गरिने संस्कृति र परम्परा नयाँ पुस्ताका लागि डिजिटल साक्षरता हुने उनको विश्लेषण छ। आदिवासीको संस्कृति बाहिरबाट देखिंदा उस्तै लागे पनि निकै भिन्न रहेको उनले बताए।
“हामीलाई सुन्दा उस्तैउस्तै लाग्नु स्वाभाविक हो। तर वास्तविकतामा केही भिन्नता हुन्छ। त्यही कारण चलचित्रले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजीकबाट बुझ्न मदत गर्छ,” उनले भने। घरज्वाइँ बस्ने परम्परालाई उनले छोरीप्रतिको उच्च सम्मानका रूपमा बुझेका छन्। अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने प्रचलन रहे पनि मगर समुदायमा घरमैं राखेर ज्वाइँको परीक्षण गरिने परम्परा रहेको उनले बताए।
उनले भने, “भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षा लिएको जस्तो लाग्यो। ज्वाइँ त खास नै छन्, तर छोरीलाई सुख दिन सक्छन् कि सक्दैनन् र आत्मनिर्भर भएर कसरी जीविकोपार्जन गर्छन् भन्ने परम्परा मगर समुदायमा रहेको पाएँ। यो चलचित्रमा मगर समुदायको प्रतिनिधित्व गर्न पाएकोमा खुशी छु।”
चलचित्रलाई अनिल बुढामगरले निर्देशन गरेका छन्। आफूलाई मन परेको महिला पात्रलाई तानेर विवाह गर्ने प्रचलन आदिवासी समुदायका हरेक जातिमा रहे तापनि मगर समुदायको संस्कृति अन्यभन्दा फरक रहेको निर्देशक मगरले बताए।
“यसमा समुदायको पृष्ठभूमिमा कथा र पात्रलाई तयार गरिएको छ। चलचित्रमा मगर समुदायको संस्कृतिसँग परिचित गराउँदै एउटा सामाजिक कथा भनिएको छ।
जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ।