चितवन, १६ असार/रासस

चितवनमा एक हजार ७७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय, चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार ५७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमित फेला परेका हुन्। सङ्क्रमितमध्ये एक हजार २६८ जना चितवनका रहेका छन्। ६६५ पुरुष र ६०३ महिलामा डेङ्गु सङ्क्रमण देखिएको केसीले जानकारी दिए।

यस्तै, ठेगाना नखुलेका १३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका ३६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। एकजनाको उपचारको क्रममा मृत्यु भएको केसीले बताए। सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६६४ जनामा डेङ्गु देखिएको छ। खैरहनी नगरपालिकामा १८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा २३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।

डेङ्गु रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो। यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने,  खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेङ्गु सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here