मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा रु २५ लाखको लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीका अध्यक्ष परमेश्वर साहले जानकारी दिए।
कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री बजेट ल्याएको जानकारी दिंदै स्वदेशमा नै सिर्जनशील उद्यम गर्न युवाहरूलाई आग्रह गरे। उनले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवनयापन गर्न नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताए। ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्र स्थापना गरी ‘स्वस्थ नागरिक समृद्ध प्रदेश’ अभियानसमेत सञ्चालन गरिने उनले बताए।