राष्ट्रिय परीक्षा बोर्डले बिहीवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतीजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले नतीजा सार्वजनिक गर्दै चार लाख ६४ हजार ७८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिंदै उत्तीर्ण भएकामध्ये १८६ जनाले चार जिपिए ल्याएको बताए। परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। एक लाख १४ हजार ४८ छात्र र एक लाख २८ हजार २५७ छात्रासहित कुल दुई लाख ४२ हजार ३१३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको छ।
बोर्डका अध्यक्ष प्राडा शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार ७९३ र दुईवटा विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन्। २२१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए।
यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतीजा सार्वजनिक गरिएको हो। सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ। एक सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडड आउँछ।
सबैभन्दाबढीगणितमाअनुत्तीर्ण
यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ। गणित विषयमा एक लाख ७७ हजार ९८५ विद्यार्थीको एनजी आएको छ।
यस्तै, विज्ञानमा एक लाख २६ हजार ९३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार ३८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्राडा शर्माले बताए।
सामाजिकमा ७३ हजार ८७७, नेपालीमा ६९ हजार ५३२, अर्थशास्त्रमा ६९ हजार ४१६ तथा ऐच्छिक गणितमा २० हजार ३५२ जना विद्यार्थीको एनजी आएको छ। दुईवटा विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पूरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ।
साउनमा परीक्षा गरेर भदौमा नतीजा सार्वजनिक गर्ने र यसै वर्ष उनीहरूले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ।
पूरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
यस वर्षको एसइई नतीजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्राडा शर्मा बताउँछन्। उनका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतीजा सुधार भएको हो।
बोर्डले सार्वजनिक गरेको नतीजा अनुसार यस वर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार ८७४ विद्यार्थीले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए प्राप्त गरेका छन्। सबैभन्दा कम छजना विद्यार्थीले एक दशमलव ६० देखि दुई दशमलव शून्य जिपिए ल्याएका छन्।
त्यस्तै, १८६ जना विद्यार्थीले मात्र चार जिपिए, ३१ हजार २०९ जनाले तीन दशमलव ६० देखि चार दशमलव शून्य जिपिए, ६८ हजार २५६ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए र ७८ हजार ८७४ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ४१ हजार १७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपिए र दुई हजार ९५० जनाले दुई दशमलव शून्यदेखि दुई दशमलव ४० जिपिए ल्याएका छन्।
यस्तोछप्रदेशकोनतीजा
आज सार्वजनिक भएको नतीजा अनुसार यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी बाग्मती प्रदेशबाट ९९ हजार ८७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी सहभागी भएकामा ४९ हजार २२४ जनाको ननग्रेड (एनजी) आएको छ।
मधेस प्रदेशमा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएकामा ३९ हजार ८९५ जनाको ननग्रेड (एनजी) आएको छ।
गण्डकी प्रदेशमा ४० हजार ५२६ विद्यार्थी सहभागी भएकामा २० हजार २७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार ३८० जनाको ननग्रेड आएको छ। सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार ४४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४१० जनाको ननग्रेड आएको
छ। उनीहरूले पूरक परीक्षामा सहभागी हुनुपर्नेछ। प्रकाशित नतीजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ। पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।