केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ शुरू भएको छ। जिल्लामा ४२ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ।
असार लागेसँगै जिल्लाका कतिपय किसानले मलविना नै धान रोपाइँ गरिरहेका छन्। यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसानहरू बताउँछन्।
सङ्घीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल पर्याप्त मात्रामा भएपनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गरे। उनका अनुसार असार लागेसँगै कतिपय किसानले मलविना नै रोपाइँ गरिरहेका छन्।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म रु २४ करोड ४१ लाख ७३ हजार ५५० बराबरको ९३ हजार ३३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ।
रु नौ करोड ३३ लाख ७६ हजार १३० बराबरको पाँच हजार ५१३ मेट्रिक टन युरिया, रु १६ करोड ४३ लाख ४५ हजार बराबरको तीन हजार ५७२ मेट्रिकटन डिएपी, रु ५७ लाख ८१ हजार सात सय मूल्य बराबरको १७० मेट्रिकटन पोटास तथा रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए।
उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया दुई हजार २६२ मेट्रिकटन, डिएपी ११४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ। “धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ,” उनले भने।
यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए। “जनकपुर शाखाबाट धनुषा तथा महोत्तरीका २७ पालिका अन्तर्गत रहेका २०९ सहकारी संस्थामार्फत मल जाने गरेको छ। जिल्लाका सम्बन्धित पालिकाको ढिलासुस्तीका कारण किसानलाई मलको अभाव देखिएको हो,” उनले भने।
स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा विक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन्। भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमीनको उत्पादन क्षमतामा –हास आउँदै गएको किसान यादवले बताए। कृषि सामग्री संस्थाबाट मल नपाउँदा सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उनले जानकारी दिए।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकता अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ।
सहजरूपमा मल पाउन गा–हो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताए। स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शिता लागू नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उनको बुझाइ छ।
प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन्। कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रतिबोरा रु ८५०, डिएपी ५० किलोको प्रतिबोरा रु दुई हजार ३५०, पोटास प्रतिबोरा रु एक हजार ७५० मा बिक्री गर्दै आएको छ। स्थानीय विक्रेताले जथाभावीरूपमा बिक्री वितरण गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खीरद गर्नुपरेको गुनासो गरेका छन्।