पथलैया–हटौंडा सडकखण्ड अन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो।
कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौंडा सडकखण्डमा वीरगंज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किमी खण्डमा नमूना सडकका रूपमा स्तरोन्नति गर्न लागेको बताए।
“यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिंदै आइरहेको छ। पहिलो चरणमा पथलैया–हेटौंडा खण्डको आधाभार क्षेत्रमा नमूना सडक स्तरोन्नति अगाडि बढाएका थियौं,” सूचना अधिकारी पाण्डले भने, “अहिलेसम्म दुई लेनको एक हजार दुई सय मिटर सडक तयार भइसकेको छ। बाँकी आठ सय मिटर पहिलो चरणमा कालोपत्र
(डिबिएम) भइसकेको छ। दोस्रो चरणको अल्फास्ट कालोपत्र गर्ने काम दुई/तीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौं।” उनले वर्षा शुरू भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए।
यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ। गत माघ २२ गते सडक डिभिजन हेटौंडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो। यो आयोजनाको लागत रु चार करोड १२ लाख १७ हजार ३४८ रहेको छ। ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण केही समय ढिला भएको सूचना अधिकारी पाण्डेले बताए। उनले यो प्रविधिको कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे।
“हामीले परीक्षणको क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गर्दैछौं। यो सडक कालोपत्र राम्रो भएको खण्डमा अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ,” सूचना अधिकारी पाण्डेले भने, “यो खण्डको सडक पहिलो चरणमा डिबिएम कालोपत्र र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरिनेछ। यो प्रविधिले सडक भासिने समस्याको पनि अन्त्य गर्ने विश्वास गरेका छौं।”
मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा मुग्लिन–पोखरा सडक अन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ। ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो।
मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ। हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ।
असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनीयर नारायण पौडेलले बताए।
पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजारनजीकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौलीनजीकको अन्तिम चरणमा पुगेको छ। तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ। हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनीयर पाण्डेले बताए।
एशियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम जारी छ। सडक विस्तारको कार्य शीघ्र सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम थालिएको हो। चार लेनमा विस्तार गर्ने उक्त सडकको काम चिनियाँ कम्पनीले गरिरहेको छ।