शम्भुनाथ (सप्तरी), ९ असार/रासस

पढ्ने उमेर भए पनि जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका नौ वर्षीय प्रदीप सदा विद्यालय जान पाउँदैन थिए। घरदेखि करीब पाँच सय मिटरको दूरीमा रहेको विद्यालय नगई घरमैं खेलेर समय बिताउँथे। अहिले प्रदीप बिहान हुनेबित्तिकै झोलामा कापीकिताब बोकेर विद्यालय जान थालेका छन्।

आमाबुवाले स्थानीय साहुको घरखेतमा काम गर्न जाँदा उनीहरूसँगै साहुमहाजनको गाईगोरु चराउने गरेका सोही ठाउँका ११ वर्षीय राकेश सदाको पनि अहिले दिनचर्या फेरिएको छ। राकेश पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालय जान थालेका छन्।

प्रदीप र राकेश मात्र होइन, पछिल्लो समय अति पिछडिएको उक्त मुसहर बस्तीका बालकालिकाको शिक्षाप्रति आकर्षण बढ्दै गएको छ। हरुवाचरुवा र मुसहर समुदायको उल्लेख्य बसोवास रहेको शम्भुनाथ–७ भगवतपुर, वडा नं २ कनकपट्टी, वडा नं ३ डङ्गराही र वडा नं ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन्।

सो नगरपालिकाका हरुवाचरुवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियान अन्तर्गत निश्शुल्क बाल ट्युशन कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो।

केही वर्ष अघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय त्यस समुदायबाट विद्यालय जानेको सङ्ख्या उत्साहजनकरूपमा बढ्दै गएको केन्द्रका सहजकर्ता बिजली रामले बताए।

तीन वर्ष अघिसम्म ती वडाबाट हरुवाचरुवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या १२ थियो।  केन्द्रले ‘द फ्रिडम फन्ड’ संस्थाको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाका माध्यमबाट हरुवाचरुवाको सशक्तीकरण कार्यक्रम’अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निश्शुल्क बालकक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या ३०० भन्दा बढी पुगेको हरुवाचरुवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदाले जानकारी दिए।

“पहिलेपहिले हरुवाचरुवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकूदमैं दिन बिताउने गर्दथे। गाउँँमैं निश्शुल्क बालकक्षा सञ्चालनमा आएपछि बिस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्”– अर्जुनले भने–“केही वर्ष अघिसम्म विद्यालयमा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा भेटिन्थे, अहिले बिस्तारै उक्त सङ्ख्या बढ्दै गएको छ।”

“हरुवाचरुवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला अभिभावकले पनि आप्mना छोराछोरी विद्यालय पठाउँदैनथे”–मोहनपुरका दिपा सदाले भनिन्–“अहिले चेतनाको स्तर वृद्धि हुनुका साथै शिक्षामूलक अभियानले गर्दा अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ।” कुनै बेला आपूmलाई पढ्न रहर हुँदाहुँदै पनि बाल्यकालमैं अभिभावकले विवाह गरिदिएको सम्झिँदै उनले अहिले त्यस्तो अवस्था बिस्तारै हट्दै गएको बताइन्। हरुवाचरुवा मुसहर परिवारका अभिभावक जिम्मेवार बन्दै गएका उनको बुझाइ छ।

हरुवाचरुवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको निश्शुल्क बालशिक्षा कार्यक्रममा अहिले उक्त समुदायका दुर्ई सयभन्दा बढी बालबालिका नियमित अध्ययन गर्न आउने गरेका श्रीपुर्राज सामुदायिक केन्द्रका संयोजक विनोदानन्द चौधरीले बताए। तीमध्ये १५० बालबालिकालाई विभिन्न विद्यालयको पहँुचमा पु–याइएको उनले जानकारी दिए।

संयोजक चौधरीका अनुसार विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाको तर्फबाट शैक्षिक सामग्री र स्कूल झोला निश्शुल्क उपलब्ध गराइएको छ। विद्यालय बाहिर रहेका बालबालिकाका लागि हाल तीनजना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौ महीने बालशिक्षा प्रदान गरिरहेको भन्दै क्रमिकरूपमा विद्यालय भर्ना गराउँदै लगिने उनले जानकारी दिए।

“प्रारम्भिक बालशिक्षाबाट राम्रो गर्दै गएका १५० जना हरुवाचरुवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराइसकिएको छ”–केन्द्रका सहजकर्ता रामले भने–“बाँकी रहेकालाई क्रमशः पायकपर्ने विद्यालयमा भर्ना गराउने तयारीमा छौं।”

गरीबी र अभावबाट गुज्रिरहेका हरुवाचरुवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर हुने गरेकामा उनीहरूलाई शिक्षासँग जोड्ने अभियान सञ्चालन गरी आगामी शैक्षिक सत्रदेखि सबैलाई विद्यालयसँग जोड्न पहल गरिएको उनको भनाइ छ।

शैक्षिकरूपमा पछाडि परेका हरुवाचरुवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ सशक्त बनाएर निरन्तरता दिनुपर्ने शम्भुनाथ–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाइँ पासवानले बताए। भर्ना हुन आउने बालबालिकालाई विद्यालयको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here