मकवानपुर, ९ असार/रासस

करीब तीन महीना अघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आइतवारदेखि पुनः उत्पादन शुरू गरेको छ। उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मरम्मतसम्भार गर्नुपर्ने भएकोले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो।

उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले पाउने उपदान र औषधि उपचार खर्चको एकमुस्ट रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हडताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। अहिले निवृत्त भएका कर्मचारीले हडताल स्थगित गरेपछि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उनले बताए।

उद्योगमा अहिले पटकपटक गरी करीब ४५०० मेट्रिक टन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार केही महीना अघि आर्थिक सङ्कटले कोइला खरीद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो।

स्थापनाकालदेखि केही वर्ष अघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहaका २९ जना कर्मचारीले अवकाश पाएपछि निजहरूले नियम अनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करीब रु १७ करोड पाँच लाख रकम दिनुपर्नेमा आर्थिक सङ्कटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताए।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याइ सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताए। “अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकोले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दीपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सङ्कटबारे जानकारी गराएका छौं”–उनले भने–“सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौं।”

उद्योग मन्त्रालयले सरकारको तर्फबाट सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थ मन्त्रालय पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकोले अवकाश प्राप्त कर्मचारीलाई दिइने बताए।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौंडा, लामसुरेमा हेटौंडा सिमेन्ट उद्योग स्थापना गरेको थियो। तत्कालीन समयमा उद्योग निर्माणका लागि सरकारले रु एक अर्ब ५० करोड रकम उपलब्ध गराएको थियो।

विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा सिमेन्ट उत्पादन गरी काठमाडौंलगायत विभिन्न शहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ। उद्योगको साबिक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ। उद्योगमा अहिले

प्रशासन, लेखा, प्रविधिक, चुनढुङ्गा खानी एवं कामदार मजदूर गरी करीब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन्। उद्योगमा अहिले पटकपटक एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योग व्यवस्थापनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here