राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ चितवनले चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन गरेको छ।
कार्यालय प्रमुख श्यामबाबू लोप्चनले चालू आर्थिक वर्षमा कार्यालयको क्षेत्रमा पर्ने चितवन, मकवानपुर, नवलपुर (बर्दघाट–सुस्तापूर्व), बारा र पर्सामा पोखरी निर्माण तथा व्यवस्थापन गरिएको बताए।
चितवनमा पर्ने राप्ती नगरपालिका–९ रसौलीमा चार रोपनी क्षेत्रफलमा एक करोड लिटर पानी जम्मा हुनेगरी रु ३५ लाखको लागतमा पोखरी निर्माण गरिएको र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गैंडा ताललाई रु आठ लाखको लागतमा चार रोपनी क्षेत्रफलमा विस्तार गरिएको उनले जानकारी दिए। “वन्यजन्तुलाई पानीको सहजताका लागि पोखरी निर्माण तथा विस्तार गरिरहेका छौं। यो वर्ष त्यसलाई निरन्तरता दिएका छौं। यहाँ खडेरीमा पनि वन्यजन्तुलाई पानीको समस्या नहुने गरी पोखरी व्यवस्थापन गरिएका छन्,” कार्यालय प्रमुख लोप्चनले भने।
यसैगरी, नवलपुरको कावासोतीस्थित बुद्ध सामुदायिक वनमा रु पाँच लाखको लागतमा दुई रोपनी क्षेत्रफलमा नयाँ तालको संरचना निर्माण गरिएको छ। मकवानपुरको मनहरी गाउँपालिका–६ मा रु २० लाखको लागतमा मोरङ्गे तालको क्षेत्र विस्तार तथा पर्यापर्यटनको दृष्टिले पनि उपयुक्त भएकाले पदमार्गसँगै पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लोप्चनले बताए।
हेटौंडा उपमहानगरपालिका–१६ शक्ति खोलामा एकै स्थानमा तीन पोखरी निर्माण गरिएका छन्। रु पाँच लाखका दरले निर्माण गरिएका ती पोखरी दुई/दुई रोपनी क्षेत्रफलमा फैलिएका छन्। यस्तै, हेटौंडा–१५ स्थित कर्णे खोलामा तीन रोपनी क्षेत्रफलमा र बकैया–३ मा पर्ने चम्पा खोलामा रु पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ।
एकाइले बाराको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने तीन कुवा पोखरीलाई पुनर्निर्माण गरेको जनाएको छ। रु १० लाखको लागतमा निर्माण गरिएको पोखरी तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। बाराको जीतपुरसिमरा उपमहानगर–१६ मा रहेको हलखोरियामा रु १३ लाखको लागतमा हात्तीघोल ताल व्यवस्थापन गरिएको छ। यो ताल आठ रोपनी क्षेत्रफलमा फैलिएको छ।