हिमाल लम्साल

वीरगंज (पर्सा), ९ असार/रासस

विसं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यति बेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आए।

तत्कालीन राजा महेन्द्रले भारतीय अतिक्रमणबाट ठोरीलगायत आसपासका जङ्गल जोगाउनकै लागि भनेर नयाँ बस्ती बसाल्ने योजना सारेसँगै श्रेष्ठसहितका व्यक्तिहरू आधा दर्जनभन्दा धेरै पहाडी जिल्लाबाट बसाइँ सरेर आउने लहर चल्यो। सोही क्रममा सिन्धुपाल्चोक, चितवन, मकवानपुर, पर्वत, गोरखा, लमजुङ, रामेछाप, दोलखालगायत जिल्लाबाट ठोरीको आसपासमा रहेका निर्मलबस्ती, सुवर्णपुरलगायत बस्तीमा आएर बसोबास गर्न थालेका थिए।

पाँच वर्षको उमेरमा सिन्धुपाल्चोकबाट ठोरी झरेका श्रेष्ठ यहाँ आएको ५४ वर्षपछि नै ठोरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। “सिन्धुपाल्चोकको बराम्चीबाट मेरा मामाहरू २०२१ सालमा नै ठोरीमा झर्नुभ–यो। मामाहरूकै जोडबलकै कारणले २०२५ सालमा मलाई पनि साथमा लिएर मेरा बाआमा पनि ठोरीमा आउनुभएको हो,” विगत स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने, “हामीले सानो हुँदा ठोरी आसपासका जङ्गल जोगाउनकै लागि ल्याइएको भन्ने सुन्दै आइरहेको छु।”

सुरुआती समयमा त ठोरीबाट सदरमुकाम चितवन पुग्न निकै कठिन थियो। बाटोको असहज सुविधा, अन्कन्टार जङ्गल नै जङ्गलको यात्रा गर्नुपर्ने अर्काे बाध्यता पनि थियो। तत्कालीन ठोरीको बस्तीमा बसेका बासिन्दालाई चितवन जिल्ला सदरमुकाम जानभन्दा पर्साको सदरमुकाम वीरगंज जान सहज हुने भन्दै सीमा पुनर्गठन समितिले २०३४/३५ सालमा ठोरीलाई पर्सा जिल्लामा गाभेको थियो। “पहिला त ठोरीको दुःखको कुरै नगरौं। सीमावर्ती क्षेत्रका डाँकूले लुटपाट गरेर हैरानै पार्ने गर्थे,” अध्यक्ष श्रेष्ठले भने, “सडक यातायातको असुविधाको कारणले धेरै नै दुःखको हन्डर खाइयो। हामी आएको ५६ वर्षमा अहिले ठोरीको स्वरूप धेरै फेरिएको छ।”

ठोरीबाट वीरगंजसम्म कालोपत्रसहितको दुई लेनको चौडा सडक बनेको छ। त्यति मात्रै होइन, चितवन छिचोल्ने कच्ची सडकसमेत तयार भइसकेको छ। उतिबेला राजा महेन्द्रले विभिन्न पहाडी जिल्लाबाट ल्याएर बसालेको बस्ती अहिले पर्यटकीय आकर्षणको केन्द्र बन्ने वातावरण बन्दै आइरहेको छ।

तराई–मधेसमा मधेस पर्ने भएपनि ठोरी गाउँपालिका भने पहाडैपहाडले घेरिएको मनोरम उपत्यका हो। समृद्धि ठोरी अभियानका संयोजक प्रकाश खनालले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि रिजर्भ एरियाको सङ्गमस्थलमा पर्ने भएकोले पनि वन्यजन्तु तथा पर्यापर्यटनका लागि उपयुक्त स्थल भएको बताउँछन्।

“ठोरीमा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना हुँदाहँुदै पनि पूर्वाधारको अभावका कारण पर्यटकीय गतिविधि चाहे जति बढाउन सकिरहेका छैनौं,” उनले भने, “सुविधासम्पन्न होटल तथा अन्य पूर्वाधार नहुँदा पर्यटकलाई यही क्षेत्रमा अड्याउन भने सकिरहेका छैनौं।” उनले वन्यजन्तु पर्यटन र ऐतिहासिक गन्तव्य भएकाले पनि पर्यटनको प्रचुर सम्भावना रहेर पनि सङ्घीय र प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा अपेक्षाकृत सहयोग नगरेको गुनासो गरे।

नाकाबन्दीको समयमा ठोरी नै मुलुकभर पेट्रोलियम पदार्थ उपलब्ध गराउने अनौपचारिक नाका जस्तै भयो। त्यसैमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम भगवान् ठोरीमा जन्मिएको अभिव्यक्ति दिएसँगै यसको चर्चा–परिचर्चा धेरै हुन थाल्यो।

यहाँ राईधारा वनभोजस्थलका रूपमा निकै चर्चित छ। सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, स्टोनपार्क, रानीवन, अमृतधारा, चीसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, शिकारीबासलगायत चार दर्जनभन्दा धेरै पर्यटकीयस्थल छन्।

ठोरी गाउँपालिका–२ मा रहेको भ्यूटावरबाट पनि सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पाइने भएकाले पनि पर्यटकको आकर्षण बढेको छ। पर्यटकीय गतिविधि फस्टाउन थालेसँगै बिस्तारै यहाँ होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम पनि बढ्दै गइरहेको छ। ठोरी गाउँपालिकामा दुई वर्षदेखि सुविधासम्पन्न ठोरी जङ्गल रिसोर्ट पनि सञ्चालनमा आएको छ।

ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदीप थापा ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन पछिल्ला वर्षमा धेरै बढेको बताउँछन्। “हामीले दुई वर्षअघि ठूलो जोखिम मोलेर करीब सात करोड लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हौं। यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमनले पर्यटनको ‘अफ सिजन’मा पनि पर्यटकको कुनै अभाव छैन,” सञ्चालक थापाले भने, “वन्यजन्तु पर्यटनका लागि प्रचुर सम्भावनाको क्षेत्र भएपनि सरकारले आधारभूत पर्यटकीय पूर्वाधार निर्माण नगर्दा भने अपेक्षितरूपमा पर्यटन क्षेत्रको विकास हुन सकिरहेको छैन।”

ठोरीमा कति पर्यटन आउँछन् भन्ने यकीन तथ्याङ्क छैन। यद्यपि सञ्चालक थापाले भने गत आर्थिक वर्षमा ६२ हजार पर्यटकले रिसोर्ट घुमेको दाबी गरे। उनले रिसोर्टमा गत वर्ष मात्रै ४८ हजारभन्दा धेरै ग्राहक आएको बताए। सञ्चालक थापा ठोरीमा भारतीय सीमावर्ती शहरहरू जमुनिया, नरकटियागंज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायतका ठाउँबाट भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने  बताउँछन्। उनी भन्छन्, “प्रायः शनिवार र आइतवार बिदा मनाउन आउने पर्यटकलाई आकर्षित गर्न सकिएमा पनि धेरै राहत पुग्नेछ।”

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा कागजमैं सीमित

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा केवल कागजमा मात्रै सीमित भएको छ। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबू राउत गद्दीको अध्यक्षतामा २०७८ चैत ११ गते ठोरीमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नका लागि रु १० करोड विनियोजन गर्ने घोषणा पनि गरेको थियो तर अहिलेसम्म प्रदेश सरकारले ठोरीको पर्यटन विकासका लागि पूर्वघोषणा गरेअनुरूपको बजेट विनियोजन भने गरेन।

ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरे पनि बजेट भने विनियोजन नगरेको बताउँछन्। “मधेस प्रदेशको मन्त्रिपरिषद्कै बैठक बसेर पर्यटकीय गन्तव्य निर्माणका लागि रु १० करोड बजेट विनियोजन गर्ने निर्णय हुँदा यस क्षेत्रमा पर्यटनको विकास हुने ठूलो आशा गरेका थियौं तर मधेस सरकारको घोषणा केवल कागजमा मात्रै सीमित हुँदा हामी निराश भएका छौं,” उनले भने।

गाउँपालिका अध्यक्ष श्रेष्ठले मधेस प्रदेशको एकमात्रै पहाडी गाउँपालिका भएपनि बेवास्ता गरेको आरोप लगाए। गाउँपालिकाले ठोरीको पर्यटनलाई व्यवस्थित गराउन रु नौ करोडको लागतमा विस्तृत परियोजना प्रतिवेदन

(डिपिआर) तयार पारेर यही वर्ष रु एक करोड लागतको काम शुरू हुन गरिरहेको जनाएको छ। पालिकाले आफ्नै बजेटले ज्येष्ठ नागरिकलाई आराम गर्ने बगैंचा, युवालाई सेल्फी खिच्ने ठाउँ, पौडी पोखरी र बालबालिकालाई खेल्ने ठाउँ बनाउँदैछ। ठोरी गाउँपालिका १२८ दशमलव ६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

भन्सारमैं सटही सुविधाको माग

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारतको बिहार र उत्तर प्रदेश राज्यको जनसङ्ख्याको थोरै हिस्सा पर्यटक मात्रै भिœयाउन सकेको खण्डमा पनि नेपालको पर्यटन क्षेत्रलाई गुलजार बनाउन सकिने बताउँछन्। पर्सा जिल्लाबाट नजीकै भारतको बिहार राज्यमा कम्तीमा रु १३ करोड र उत्तर प्रदेश राज्यमा १९ करोड जनसङ्ख्या रहेका छन्। ती राज्यहरूबाट कुल जनसङ्ख्याको एक प्रतिशत मात्रै पर्यटक ल्याउन सके पनि यस क्षेत्रको पर्यटनले मुहार फेर्न सकिने थियो।

अहिले भारतीय पर्यटक बोकेर आएका भारतीय नम्बर प्लेटका सवारीसाधनले दैनिक रु ७६५ तिरेर यात्रा गर्ने गर्छन्। अध्यक्ष अग्रवालले पर्सा जिल्लामा रहेका भन्सार कार्यालयसँगै मुद्रा सटही काउन्टर राख्नुपर्ने बताए। “भारतीय पर्यटकहरू भारु पैसा बोकेर आउने गर्छन्। भन्सार क्षेत्रमा मुद्रा सटही काउन्टर नहुँदा पनि पर्यटकले विभिन्न खालका सास्ती भोग्नुपरेको छ,” उनले भने, “यस्ता खालका समस्या समाधान गर्ने हो भने पर्यटकको आकर्षण अझै बढाउन सकिने थियो।”

ठोरी हँुदै भरतपुर

छोटी भन्सार कार्यालय ठोरीले आफ्नो सेवा स्तरोन्नति गरेसँगै अहिले भारतीय पर्यटकहरू सवारीसाधनसहितको अस्थायी अनुमति प्राप्त गर्न सहज भएसँगै ठूलो सङ्ख्यामा ठोरी नाका हुँदै भित्रिरहेका छन्। भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसर पारेर ठोरी नाका हँुदै आउने पर्यटकलाई भिœयाउन ठूलै कसरत गर्दै आइरहेको छ तर ठोरी हँुदै भरतपुरसम्मको सडक राम्रो नहुँदा पनि समस्या भइरहेको छ।

भरतपुर महानगरकी प्रमुख रेनु दाहालले सङ्घ–प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर ठोरी–भरतपुर सडकखण्डलाई व्यवस्थित गरेर पर्यटकीय गतिविधिलाई अझै बढाउने कोशिश गर्दै आइरहेको बताइन्। वीरगंज बजारदेखि ठोरी ६० किलोमिटरको दूरीमा रहेको छ। ठोरीदेखि भरतपुर ७० किलोमिटरको हाराहारीमा रहेको छ। यो सडकखण्ड हुलाकी राजमार्गले जोडिएको छ तर चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रमा पर्ने भएकोले केही खण्डको सडक भने कालोपत्र नहुँदा पर्यटकीय आवागमन सहज हुन सकिरहेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here