देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बाग्मती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ। मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिवार बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ।
अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेस प्रदेशका थोरै तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षा भएको छ। महाशाखाका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।