सरकारसँग चार बुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ।
सोमवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चार बुँदे सहमति भएको छ। बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहबरमा भएको वार्तामा सहमति जुटेको हो। सहमतिपत्रमा निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र सङ्घका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरे।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको सात बुँदे मागलगायत यस क्षेत्रमा देखा परेका समस्याको समाधान गर्नेगरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन र अखिल नेपाल पेट्रोलियम तथा ग्याँस श्रमिक सङ्घको प्रतिनिधित्व हुनेगरी एक उपसमिति गठन गर्ने सहमति भएको छ।
नेपाल आयल निगमले व्यवसायीहरूलाई दिंदै आएको पारिश्रमिक र सुविधा ट्याङ्कर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यवसायीले गर्नेगरी सहमति भएको छ।
हाललाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने र उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको सहज ढुवानी गर्ने सहमति भएको छ। विद्यमान कानूनी व्यवस्थाहरूको पालना सम्बन्धमा नियमित अनुगमन गर्ने विषयमा पनि दुई पक्ष सहमत भएका छन्।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि आइतवारदेखि उपत्यकाका पेट्रोलपम्पहरूमा डिजेल तथा पेट्रोल अभाव देखिएको थियो। इन्धनको सहज आपूर्ति रोकिएसँगै पेट्रोलपम्पहरूमा सवारीसाधनको लाइन लागेको थियो।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न वर्जित छ, तर चालकहरू विद्यमान कानूनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका थिए।