काठमाडौं, २ असार/रासस
प्रतिनिधिसभाको आइतवारको बैठकमा बारा, कैलयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहालाई गोली हानी हत्या गरिएको घटनाको छानबीन गर्न माग गरिएको छ।
बैठकको आकस्मिक समयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले एकपछि अर्को यस्ता व्यक्ति हत्या भएको भन्दै क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको घटनाको घोर भत्र्सना गरे। कुशवाहा एक प्राज्ञिक र सरल व्यक्ति भएको उनले बताए।
बारामा गत असोजमा कलैया चोकमा बाल एकता बोर्डिङ स्कूलका प्रिन्सिपल रूपेश सर्राफ र गत भदौमा बाराकै पचरौता नगरपालिकामा भारतीय नागरिकलाई नेपालमा ल्याएर गोली हानी हत्या गरिएको घटना उल्लेख गर्दै सांसद मैनालीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सरकारसँग माग गरे।
“हत्या–शृङ्खला बढ्दै गएको छ। खुला सीमा तथा हातहतियारको ओसारपसारका कारण सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित छन्”–उनले भने–“मधेसमा एक दशक अघि राजनीतिक आवरणमा हत्या र हिंसाको शृङ्खला शुरू भएको थियो। धेरै नागरिक विस्थापित भएका थिए। त्यो पीडा बिर्सेर मधेस सङ्लिदै गइरहेको अवस्थामा फेरि हत्या शृङ्खला बढेको छ। यसलाई अविलम्ब नियन्त्रण गरी अपराधीलाई कानूनी दायरामा ल्याउन माग गर्दछु।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए।
“शिक्षण सेवामा लागेका ‘गुरुहरूको दिनदहाडै गोली प्रहार गरी हत्या हुनु दुर्भाग्य हो। मधेस प्रदेशमा गत साता मात्रै चारजनाको गोली हानी हत्या भएको छ। जघन्य अपराधका घटनाको छानबीन गरी कारबाईको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु”–उनले भने।