गोपालप्रसाद बराल

महोत्तरी, २७ जेठ/रासस

भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन्। भरपर्दाे बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ। जेठ चौथो साताको प्रारम्भसँगै यहाँका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको छ। यो चिस्यानमैं ब्याड राख्ने तरखरमा रहेका किसान बीउ नपाएपछि हैरान बनेका हुन्।

“धुले बीउ राख्न हुनेगरी पानी त प–यो, तर भरपर्दाे बीउ पाइएको छैन,” भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान शेख जब्बर भन्छन्, “बजारमा किनिएको बीउ राम्रो उमारेको नहुँदा विगतमा दुःख पाएका छौं।”

बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले जब्बारलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ। जब्बार मात्र नभएर यहाँका अधिकांश किसान अहिले आफ्नै स्थानीय तहको कृषि शाखाबाट बीउ पाउने आसमा बसेका छन्।

धेरैजसो स्थानीय तहका कृषि शाखाले किसानलाई सुपथ मूल्यमा दिइने बीउको व्यवस्था नगर्दा किसान फेरि खुला बजारमैं भर पर्नुपर्ने भएको छ। “पोहोर, परार सस्तो महँगो जे जस्तो भएपनि वडा कार्यालयबाट बीउ पाइएको थियो,” सो बस्तीकै अर्का किसान गङ्गाराम महतो सम्झन्छन्, “यसपटक बीउ वितरणबारे थाहा पाइएन।”

जेठ मध्यअघि नै राखिसक्नुपर्ने ब्याड यसपटक वर्षा ढिलो हुँदा किसान पछि परेका हुन्। अब समय निकै घर्किसक्दा धान रोप्नै नपाइने पो हो कि भन्ने चिन्ताले किसानको पिरोलो बढेको हो। राम्रो बीउको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्न सक्ने आशङ्काले पिरोलिएका छन्। हिउँदे वर्षा राम्रो नपर्दा चैतेबालीबाट राम्रो उत्पादन लिन नसकिएको र वैशाखे तरकारीबाली खडेरीमा परेर पहेंलिएको हुँदा किसानको आस अब धानमा टिकेको हो। यो जिल्लाकै मुख्यबाली समयमा लगाउन नपाइएपछि गुजाराको सङ्कट बढ्ने किसानको चिन्ता छ।

बर्दिवास–९ पशुपतिनगरका ६५ वर्षीय किसान रामचन्द्र थापामगर बीउकै खोजीमा भौंतारिरहेका छन्। पहिले नै पानी नपर्दा बर्खे धानको बीउ राख्ने समय नभएको हुँदा अब हिउँदे धानको मात्र किसानलाई आस छ।

असार पहिलो साता लगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ शुरू गरिनुपर्ने यो खेतीको तालिका हो। जेठ सकिनै लाग्दासम्म बीउ नपाएर ब्याड राख्न नपाएका किसान रनभुल्लमा परेका छन्। “जेठ सकिनै लाग्यो, धानको बीउ पाइएको छैन,” जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान इब्राहिम राइन भन्छन्, “यसपालि राम्ररी धान रोप्न पाइने छाँट छैन।”

जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन्। पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैंले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिएकाले बीउकै लागि बजारको मुख ताक्नुपरेको किसानहरू बताउँछन्। हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहित दर्जनौं धानका जात हुन्थे,” भङ्गाहा–८ धर्मपुरका ७५ वर्षीय किसान राजेन्द्र बछार थारू भन्छन्, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ।”

पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा बीउ नपाएर सास्ती पाइने गरेको किसानको भोगाइ छ। “कहिलेकाहीं त वडा कार्यालयले भाउ मिलाएरै दिन्थ्यो, यसपालि भने बीउ पाइएन,” बछारकै छिमेकी रामसागर राउत भन्छन्।

जिल्लामा कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ। यद्यपि कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर लाग्ने हुँदा अधिकांश खेती आकाशे पानीकै भरमा छ। स्थायी कुलो, नहर १० प्रतिशतमा मात्र पुगेको हुँदा किसानले कहिल्यै सजिलै समयमा खेती लगाउन पाएका छैनन्।

यो अवस्थाले बर्सेनिजसो अपेक्षित धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका बालीविज्ञको स्वीकारोक्ति छ। “समयमा पानी र बीउ नपाउँदा किसान हैरान भएका छन्,” कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादव भन्छन्, “मुख्यरूपमा अहिले किसानलाई बोरिङ, इनार र स्यालो ट्युबवेलजस्ता वैकल्पिक सिंचाइमा प्रोत्साहित गरिंदैछ, यसले आकाश ताक्नुपर्ने अवस्थामा राहत दिनेछ।”

बीउका लागि स्थानीय तहका कृषि शाखाको पहलकदमी बढ्दा किसानले राहत पाउने यादव बताउँछन्। जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये धेरैजसो कृषि शाखा सञ्चालनबारे बेखबरझैं रहेका किसानको गुनासो छ।

जिल्लाका एकाध स्थानीय तहबाहेक किसानलाई समयसमयमा सल्लाह दिने, बाली हेरिदिने, बीउको प्रबन्ध गरिदिनेजस्ता काम हेर्नेगरी कृषि शाखा सञ्चालन हुन नसकेको अखिल नेपाल किसान महासङ्घका संयोजक परशुराम ठाकुर बताउँछन्।

“स्थानीय तहको प्राथमिकतामा बीउ, सिंचाइ र समयमा मलखादको प्रबन्ध परेको देखिंदैन,” ठाकुर भन्छन्, “यो अवस्थाले किसान निराश छन्।” उनका अनुसार कृषि सामग्रीको बजार व्यवस्थापन नगरिंदा र गुनासो सुनाउने ठाउँ नपाइँदा किसानको निराशा बढेको हो।

यसैबीच, जिल्लाको मटिहानी नगर कार्यपालिकाको कार्यालयले भने कृषि शाखा सक्रियतापूर्वक काममा रहेको जनाएको छ। “हामीले खेतीपातीको बेला बीउ, मलखाद र अन्य प्रबन्धमा ध्यान दिंदै आएका छौं,” प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा भन्छन्, “यसैगरी, फलफूल  रोप्न, मखानखेतीको बजार व्यवस्थापन र गाई बाख्रापालनमा सहयोग कार्यक्रम नियमित छन्।”

स्थानीय तहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल बताउँछन्। “जिल्लास्थित कृषि ज्ञान केन्द्र प्रदेश सरकार मातहत छन्,” सहसचिवको सेवाबाट निवृत्त भएका भुजेलले भने, “पहिलेका केन्द्र र उपकेन्द्र स्थानीय तह मातहत छन्, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन।”

सैद्धान्तिकरूपमा भएको व्यवस्थाभित्र स्थानीय तहले कृषि शाखा सञ्चालन गर्न नसक्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएको आम कुरा नै बनेको छ। यहाँका स्थानीय तह कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गर्छन्।

“यो बिल्कुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ,” भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भन्छन्, “किसानले बढीभन्दा बढी सेवा लिन सक्ने गरी कृषि शाखाको सञ्चालन र सेवाप्रवाहको उचित समन्वय गर्न सकिएको छैन।”

स्थानीय तहमा रहेका कृषि केन्द्र र उज्ञपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आफूहरू स्थानीय तहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन्। आफूहरूसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ।

सिङ्गो कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको यहाँका किसानको गुनासोमा बुद्धिजीवी पनि सहमत देखिएका छन्। “कृषि क्षेत्र पूरै बेवारिस जस्तै देखियो,” विगतमा कृषि क्षेत्रमा लामो सरकारी सेवा दिएर अवकाश लिएका भङ्गाहा–६ संग्रामपुरका जासर यादव भन्छन्, “अहिलेको अवस्थाले कृषि क्षेत्र तहसनहस हुने देखिन्छ।”

जिल्लामा कुल खेतीयोग्य जग्गा करीब ७० हजार हेक्टरमध्ये करीब ४५ हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको छ। अहिले धानको भरपर्दाे बीउ नपाउँदा किसानले पर्याप्त धान रोपाइँ गर्न नसक्ने देखिएको छ।

चैतेबाली र वैशाखे तरकारीखेतीबाट अपेक्षित उत्पादन लिन नसक्दा अब गुजाराको एउटै सहारा देखिने धानबाली लगाउन सक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन्। यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश, स्थानीय तह र कृषि सम्बद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here