औद्योगिक नगर वीरगंज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेशनको निर्माण शुरू गरेको छ।
औद्योगिक करिडरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई उच्च क्षमताको विद्युतीय संरचना आवश्यक परेको हो। वीरगंजसहित बारा–पर्सा औद्योगिक करिडरस्थित उद्योगहरूलाई विद्युत् आपूर्ति गर्न चालू प्रसारण लाइन तथा सबस्टेशनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उच्च क्षमताका केही प्रसारणलाइन तथा सबस्टेशन निर्माणाधीन छन् भने केही प्रस्तावित छन्।
बारा–पर्सा औद्योगिक करिडरमा पर्ने सिमरा, निजगढ, वीरगंज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरणका पूर्वाधार क्रमिकरूपमा बनाउन लागेको हो।
प्राधिकरणले बाराको पथलैया (पिलुवा) सबस्टेशनदेखि परवानीपुरसम्म करीब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार
(कन्डक्टर) बदलेर नयाँ राख्ने काम अन्तिम चरणमा पु–याएको छ। डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो ‘कन्डक्टर’ निकाली उच्च क्षमता (एचटिएलएस) राख्ने काम भइरहेको छ। एउटा सर्किटको काम सकिएपछि सञ्चालन गरी दोस्रो सर्किटको काम शुरू हुनेछ। प्रसारणलाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सकिनेगरी काम भइरहेको छ। पथलैया (पिलुवा)–परवानीपुर प्रसारणलाइनबाट करीब २०० मेगावाट प्रवाह गर्न सकिनेमा ‘कन्डक्टर’ बदलेपछि क्षमता दोब्बर हुने जनाइएको छ।
हेटौंडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि ‘कन्डक्टर’ बदलेर क्षमता दोब्बर बनाइसकिएको छ। यसले परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार स्थलगत अनुगमन गरी ‘कन्डक्टर’ बदल्ने कार्य छिटो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले भने–“प्रसारणलाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगंज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ, अर्काेतर्फ पथलैयाबाट थप विद्युत् पठाउन नसक्दा रक्सौलबाट विद्युत् आयात गर्नुपरेको छ, त्यसैले यस्तो संवेदनशील अवस्थामा गम्भीर भएर निर्धारित समय अघि नै काम सक्नुपर्छ।”
घिसिङले अब पथलैया–परवानीपुर प्रसारण लाइनको क्षमता हालभन्दा दोब्बर हुने भएकोले त्यस क्षेत्रमा खपत गरी बाँकी विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने जानकारी दिए। वीरगंज क्षेत्रका उद्योगहरूले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेशनहरू निर्माणाधीन रहेको उनले बताए।
त्यस क्षेत्रका उद्योगलाई लक्षित गरी बाराको प्रसौनी र वीरगंजमा १३२ केभीका दुर्ईवटा सबस्टेशन निर्माणाधीन छन्। विद्युत्को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारणलाइन प्रस्ताव गरिएको छ। पोखरियामा सबस्टेशन निर्माणाधीन छ। परवानीपुरदेखि पोखरियासम्म करीब २१ किलोमिटर प्रसारणलाइनको डिजाइन तयार भइसकेको छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेशन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरिया पु–याउने गरी अर्काे आयोजना शुरू गरिएको छ। प्रस्तावित उक्त ४०० केभी प्रसारणलाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुनेछ।
निजगढ, रमौली र पोखरियामा ४०० केभीका तीनवटा सबस्टेशन निर्माण गरिने छन्। निजगढ–रमौली–पोखरिया प्रसारणलाइनको सर्भे सम्पन्न भइसकेको छ। प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ।
निजगढ सबस्टेशन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिनेछ। निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेशन एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ। रमौली–पोखरिया २७ किलोमिटर प्रसारणलाइन र पोखरिया सबस्टेशनको लगानी स्रोत जुटिसकेको छैन।