काठमाडौं, १४ जेठ/रासस

१५औं आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ। महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ।

प्रतिवेदन अनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रतिशत प्रगति देखिएको छ भने छ सूचकमा सातदेखि ५० प्रतिशत प्रगति भएको छ। त्यसैगरी, वैज्ञानिक वन व्यवस्थापन भएको क्षेत्रफल, दर्ता भएका निजी वन विकास, प्लास्टिक पुनः प्रशोधन गरी तयारी वस्तु उत्पादन गर्ने उद्योग र बायो इन्जिनीयरिङ गरेको क्षेत्रफल सूचकमा भने प्रगति शून्य देखिएको छ।

आव २०७९/८० मा लिएको लक्ष्यमध्ये वृक्षारोपण गरिएको क्षेत्रफलको प्रगति १० दशमलव १२ प्रतिशत, बिरुवा उत्पादन सात दशमलव शून्य तीन प्रतिशत, बस्ती तथा बजार संरक्षण केन्द्र २६ दशमलव ६६ प्रतिशत, जलवायु परिवर्तन अनुकूलन योजना तयारी र कार्यान्वयन भएका स्थानीय तह ४० दशमलव १६ प्रतिशत पुगेका छन्। वायुमा ‘सस्पेन्सन पार्टिकुलेट’को गाढापनको प्रगति ४९ दशमलव ९७ प्रतिशत छ।

आव २०७९/८० को वार्षिक बजेट वक्तव्यमा उल्लेख भएका क्रियाकलापमध्ये तीन स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने लक्ष्य रहेकोमा कार्यान्वयन नभएको, एक हजार ४४५ हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्ने लक्ष्य रहेकामा एक हजार दुई सय हेक्टरमा भएको, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि २८ किलोमिटर मेसजालीसहित तारबार निर्माण गर्ने लक्ष्य रहेको थियो।

ती लक्ष्य तालिकाबमोजिम आवधिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल हुनेगरी प्रगति हुन नसकेको भन्दै लक्ष्य अनुसारको कार्यान्वयन हुनेगरी कार्यक्रम सञ्चालन गर्नसमेत प्रतिवेदनले आवश्यकता औंल्याएको छ।

प्रतिवेदन अनुसार ताल, सिमसार र पोखरी संरक्षणमा १०९ दशमलव ७४ र औसत रूख सङ्ख्यामा ८१ दशमलव १३ प्रतिशत प्रगति हासिल भएपनि अन्य चार लक्ष्यको न्यून र एक लक्ष्यको शून्य प्रगति छ। निर्धारित लक्ष्यबमोजिमका कार्यहरू कार्यान्वयनमा प्रभावकारिता ल्याइ दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन र प्रभावकारी अनुगमन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

वनस्रोत उपयोग वन नीति २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ। वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत बिग्रिएका र बूढो तथा उमेर पुगेका रूख बढ्दो क्रममा छन्।

आवश्यकता अनुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा रु दुई अर्ब २३ करोड, आव २०७८/७९ मा रु सात अर्ब ९९ करोड र आव २०७९/८० मा रु छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौं रकम बराबरको काठजन्य सामग्री आयात भएको देखिंदा ढलापडा, सुखड खडा रूखहरूको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले प्रविधि हस्तान्तरण वनस्पति विभागले गरेको अध्ययन अनुसन्धानबाट हालसम्म १८ प्रकारका जडीबुटी एवं वानस्पतिक औषधीय गुण एवं त्यसको उपयोग सम्बन्धमा सूत्र (फर्मुला) विकास गरेको उल्लेख गरेको छ। यस्ता सूत्रहरूको पेटेन्ट लिन सोको संरक्षण गरी निजी तथा सार्वजनिक संस्थालाई हस्तान्तरण गरी राज्यले आर्थिक लाभ प्राप्त गर्न सक्ने अवसर देखिए तापनि यस सम्बन्धमा कानूनी व्यवस्था नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार ठूलो लगानी एवं लामो समयदेखिको निरन्तर प्रयासबाट प्राप्त नतीजाको उपयोग गरी अनुसन्धानात्मक कार्यका लागि थप उत्प्रेरणा प्रदान गर्न, दीर्घकालीनरूपमा लाभ लिन तथा प्रविधि हस्तान्तरण, नवप्रवर्तन एवं नयाँ खोजको व्यवसायीकरण गर्न आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने देखिन्छ। कुल ६५ जिल्लामा एक लाख चार हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार चुरे उत्थानशील आयोक्साको ४२ प्रतिशत अवधि व्यतीत हुँदा एक दशमलव ३१ प्रतिशत र एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाको अवधि ६० प्रतिशत समाप्त हुँदा नौ दशमलव दुई प्रतिशत मात्र खर्च भएको देखिन्छ। आयोजनाको समयावधिको तुलनामा खर्च न्यून हुँदा बायोक्सको समय र लागत बढ्दै जाने र प्रतिफल प्रासिमा ढिलाइ हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुन १३६ दिनदेखि एक हजार २४५ दिनसम्म लागेको देखिएको उल्लेख छ। सोमध्ये प्रमाण सङ्कलन गर्न २३८, परिमार्जनका लागि प्रस्ताव फिर्ता पठाएकोमा मन्त्रालयमा पुनः पेश हुन एक हजार १० र सचिवबाट सिफारिश हुन औसतमा २६७ दिनसम्म लागेको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयमा स्वीकृतिका लागि पेश भएका प्रतिवेदन अध्ययन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कागजातको पूर्णताबेगर सिफारिश हुने, परिमार्जनका लागि पठाएकोमा ढिला गरी स्वीकृत हुने प्रतिवेदनमा उल्लेख छ।

वन तथा वातावरण मन्त्रालय परिमार्जन प्रतिवेदन प्राप्त हुने, आयोजना प्रभावित स्थानीय तहमा गरिने सार्वजनिक सुनुवाइ कार्यक्रमबाट प्राप्त रायसुझाव प्रतिवेदनमा संलग्न नगरी पेश हुने, आयोजनाले अति भएका वन क्षेत्र रूख कटान गर्नुपर्ने सङ्ख्या यकीन नगरी पेश गर्नेलगायतका कारणले प्रतिवेदन स्वीकृत गर्न बढी समय लाग्ने गरेकोसमेत प्रतिवेदनमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here