रूपन्देहीमा चालू आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आवको वैशाखसम्ममा रूपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या २१७ रहेको थियो।
कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रूपन्देहीमा पनि देखिएको बताए। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए। “उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ,” उनले भने, “आव २०७९/८० मा एक हजार १३० उद्योग दर्ता भएकामा चालू आवमा ७२९ मात्र दर्ता भएका छन्।”
उद्योग मात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत आवमा एक हजार ३०४ व्यवसाय दर्ता भएकामा चालू आवमा हालसम्म एक हजार १७५ वटा मात्र दर्ता भएका छन्। आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालू आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए।
आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन्। “रूपन्देही औद्योगिक केन्द्रको रूपमा रहेको छ, यहाँ ठूला–ठूला उद्योग छन्,” उनले भने, “कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन्।”
रूपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्। व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ। सरकारले उद्योगी–व्यापारीले राखेका सुझाव समयमैं कार्यान्वयनगर्नुपर्ने उनको धारणा छ। अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए।