उद्योग वाणिज्य सङ्घ सिराहा, लहानले गत चैत ३० देखि वैशाख १० गतेसम्म आयोजना गरेको ‘लहान एक्स्पोः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ मा रु एक करोड ५९ लाखभन्दा बढीको कारोबार भएको छ।
सङ्घले आइतवार पत्रकार सम्मेलन गरी १० दिनसम्म चलेको महोत्सवमा एक करोड ५९ लाख ३२ हजार ३५५ रुपियाँको कारोबार भएकामा त्यसमध्ये एक करोड ४८ लाख ५२ हजार ५९९ रुपियाँ खर्च भएको जनाएको छ। सङ्घका अध्यक्ष विकास सारडाले खर्च कटाएर १० लाख ७९ हजार ६५६ रुपियाँ नाफा भएको र आठ लाख ७२ हजार ५६४ रुपियाँ सरकारलाई राजस्व बुझाएको जानकारी दिए।
महोत्सवबाट प्राप्त नाफा रकमको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने नीति अनुसार सप्तरीका अग्निपीडितलाई रु एक लाख रकम बराबरको सामग्री प्रदान गरिएको र बाँकी रकम अन्य सामाजिक क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए।