अन्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अन्डाको लागत बढेको छ ।
नेपाल भेटेरिनरी एशोसिएशन बाग्मती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम बढ्ने बताउँछन् । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ¥हास आउने गर्छ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिंदै उनले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिए ।
पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउँछन् । हाल एउटा अन्डा तयार गर्न रु १६ हाराहारी खर्च हुने गरेको छ । यसअघि अन्डाको लागत मूल्य रु १४.५० थियो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्काे गर्मी र रोगका कारण अन्डा उत्पादनमा कमी आएको बताउँछन् । दैनिक ५० देखि ६० लाखवटा अन्डा उत्पादन हुँदै आएकामा आधा घटेको उनी बताउँछन् ।
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अन्डाको मूल्य कम रहेको बताउँछन् । उनले भने, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”
मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकोले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए ।