एप्पलको बाटो पछ्याउँदै गूगल र सामसुङले आफ्ना ग्राहकलाई सात वर्षसम्म सफ्टवेयर अपडेट उपलब्ध गराउने ऐतिहासिक निर्णय गरेका छन्। यो त्यो समय हो, जब तीन वर्षपछि अपडेट बन्द भएको कारण नयाँ फोन किन्न मानिसहरू बाध्य भएका थिए। तर अहिले ‘राइट टु रिपेयर’ कानून आएपछि कम्पनीहरूले आफ्नो रणनीति परिवर्तन गर्न बाध्य भएका छन्। फलस्वरूप, तपाईंको स्मार्टफोन अब सात वर्षसम्म टिक्नेछ। यो परिवर्तन उपभोक्ताहरूका लागि ठूलो राहत मात्र होइन, इलेक्ट्रोनिक फोहोर घटाउन पनि सहयोगी हुनेछ।
टेक फिक्सका लेखक तथा मोबाइल विश्लेषक ब्रायन एक्स चेनका अनुसार गूगल र सामसुङले ऐतिहासिक निर्णय लिएका छन्। अब पिक्सल ८, ८ ए र ग्यासेक्सी एस २४ ले सात वर्षसम्म सफ्टवेयर अपडेट प्राप्त गर्नेछ। यो परिवर्तन एप्पलको रणनीतिबाट प्रेरित भएको हो, जसले पहिले नै आफ्ना आइफोनहरूका लागि लामो समयसम्म अद्यावधिकहरू उपलब्ध गराउने वाचा गरेको थियो।
अब प्रश्न उठ्छ कि प्रविधि कम्पनीहरूले कसरी उपकरणलाई लामो आयु दिन सक्षम हुनेछन् ? यी कम्पनीहरूको लागि सबैभन्दा ठूलो चुनौती हुनेछ। राइट टु रिपेयर कानूनपछि कम्पनीहरूले विना कुनै हिचकिचाहट उपकरण मर्मत गर्नुपर्नेछ। उपभोक्ताले पैसा खर्च गरिरहेका छन् साथै उनीहरूको घरमा ई–फोहरहरू पनि थुप्रिरहेका छन्। रिपोर्टका अनुसार भारतका घरहरूमा मोबाइल र ल्यापटपजस्ता २० करोडभन्दा बढी ग्याजेटहरू क्षतिग्रस्त अवस्थामा छन्।
के हो मर्मत अधिकार ऐन ? : राइट टु रिपेयर कानून नयाँ होइन। यसलाई अमेरिका, बेलायत र युरोपेली सङ्घलगायत धेरै देशमा मान्यता दिइएको छ। उपभोक्ताले आफ्नो ग्याजेट मर्मत गराउन चाहन्छन् भने सोको मरम्मत गरेर दिनुपर्छ। कुनै अवस्थामा फर्काउनुहुँदैन। पार्टपुर्जा पुरानो भएपनि मर्मत गरेर दिनुपर्छ। ती देशहरूमा कम्पनी आफैंले आफ्नो सेवा केन्द्रमा उपकरण मर्मत गर्नुपर्ने कानून छ।