जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ।
भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धूलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन्।
विसं १९१३ सालमा निर्मित कारागारमा १३५ जनालाई राख्न सकिने भएपनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन्। कारागार प्रमुख (जेलर) रामचन्द्र साहले क्षमताभन्दा बढी कैदीबन्दी भएपनि सो अनुसार व्यवस्थापन नहुँदा समस्या भएको बताए।
उनका अनुसार कारागारमा रहेका ५९४ कैदीबन्दीका लागि २४ कोठा, १५ शौचालय, सातवटा चापाकल र छवटा धारा छन् तर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्यकर्म गर्नसमेत समस्या छ। “करीब डेढ फिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरैै समस्या छ। पछिल्लो समय कारागारलाई सुधारगृहको अवधारणा अनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकूद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन,” उनले भने।
प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा त्यहाँको चाप पनि यही काराकारले धान्नुपरेको छ। कुल कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन्। “हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधारलगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौं तर सुनुवाइ भएको छैन,” कारागार प्रमुख साहले गुनासो गरे।
जलेश्वरमा कारागारसँग छ बिघा ११ कट्ठा १७ धुर जग्गा छ। सो जग्गामा सुविधासम्पन्न भवन तथा खुला कारागारको अवधारणा अनुसार पूर्वाधार निर्माण गर्न माथिल्लो निकायमा प्रस्ताव पठाइसकिएकोले सोको कार्यान्वयन हुनुपर्ने साहले बताए।