जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले चालू आर्थिक वर्षको १० महीनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालू आवको साउनदेखि वैशाखसम्मका १० महीनामा ट्राफिक नियम उल्लङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनका चालकलाई कारबाई गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जानकारी दिए।
त्यस अवधिमा शहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी १९२ वटा सवारीसाधन दुर्घटना भएका थिए। महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको बताए।
त्यसैगरी, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाई, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेको पौडलले बताए।