वीरगंज (पर्सा), ६ जेठ/ रासस

आन्तरिक राजस्व कार्यालय, पर्साले चालू आर्थिक वर्ष २०८०/८१ को १० महीनामा साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार चालू आवको १० महीनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन।

आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले चालू आवको १० महीनाको अवधिमा सबै शीर्षकमा रु  पाँच अर्ब ५८ करोड ९६ लाख ५० हजार राजस्व सङ्कलन गरेको बताए। “आन्तरिक राजस्व विभागले चालू आवको १० महीनामा सात अर्ब ३० करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको थियो तर बजार सुस्ताएसँगै लक्ष्यको ७६ दशमलव ५६ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेका छौं,” उनले भने, “चालू आवको १० महीनाको अवधिमा मूल्य अभिवृद्धि करतर्फको राजस्व सङ्कलनको वृद्धिदर गत आवको तुलनामा ३० प्रतिशतभन्दा धेरै छ तर अन्तःशुल्क कर भने यो वर्ष घट्ने देखिएको छ।”

कार्यालयले चालू आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै अन्तःशुल्क करतर्फ भने दुई अर्ब २२ करोड ७१ लाख २२ हजार सङ्कलन गरेको छ। अब भने अन्तःशुल्क करबापतको रकम आगामी दुई महीनामा बढ्ने सम्भावना न्यून छ। कार्यालयले मूल्य अभिवृद्धि करतर्फ भने रु एक अर्ब ७२ करोड ४७ लाख रकम सङ्कलन गरेको छ। त्यस्तै, आयकर शीर्षकमा पनि एक अर्ब ५६ करोड ३६ लाख रकम सङ्कलन गरेको छ।

चालू आवको १० महीनाको अवधिमा कार्यालयले ब्याजकरबापत चार करोड ७३ लाख ५६ हजार सङ्कलन गरेको छ। त्यस्तै, भाडाकरबापत दुई करोड ६६ लाख नौ हजार सङ्कलन गरेको छ। त्यस्तै, स्वास्थकरबापत एक लाख २४ हजार मात्रै सङ्कलन गरेको छ। कार्यालयले विशेषगरी छवटा शीर्षकमा कर सङ्कलन गर्ने गर्छ।

कार्यालयका अनुसार यस वर्ष हिमालयन डिस्टिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभाव परेको छ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलनलाई बढाउनका लागि नियमितरूपमा बजार अनुगमन र कर सचेतना कार्यक्रम अघि बढाउँदै आइरहेको बताए। आन्तरिक राजस्व विभागले कार्यालयलाई चालू आवभरिमा रु नौ अर्ब ४१ करोड रकम सङ्कलन गर्ने लक्ष्य दिएको छ, तर कार्यालयले यस वर्ष लक्ष्यको कम्तीमा ७५ प्रतिशत हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरेको छ। विभागले गत आवमा कार्यालयलाई १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने सात अर्ब १४ करोड मात्रै सङ्कलन गरेको थियो।

आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर र स्वास्थ्य कर सङ्कलन गरिन्छ। कार्यालयमा हालसम्म एक लाख ४० हजार ८६३ करदाता दर्ता भएका छन्। त्यसैगरी, मूल्य अभिवृद्धि करमा भने १० हजार ६२५ दर्ता भएका छन्। त्यस्तैगरी, व्यक्तिगत आयकरमा भने ८६ हजार १८० र आयकरमा भने ४१ हजार २२६ जना दर्ता भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here