बाग्मती, ६ जेठ/रासस

बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतिहारी–अमलेखगंज पाइपलाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ।

अमलेखगंज–लोथर ६९ किलोमिटरमा पाइपलाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगंजका प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिए। “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”–उनले भने– “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ।” पाइपलाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिनेछ।

मोतिहारी–अमलेखगंज पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ।  दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगंजस्थित डिपोमा ४१०० किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, २५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए।

पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ।

एउटै पाइपलाइनबाट पेट्रोल र मटीतेल आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम हुन सहयोग पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here