वीरगंज (पर्सा), २ जेठ/रासस

मधेस प्रदेशका ९० दशमलव छ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो ।

मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म नौ दशमलव चार प्रतिशत अर्थात् पाँच लाख ७३ हजार ४३३ जनाले मात्रै बीमा गराएका छन् ।

यो तथ्याङ्कले मधेस प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको देखाउँछ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले मधेस प्रदेशमा बीमाको पहुँच कम भएकाले तीनवटै तहका सरकारको समन्वयमा प्रदेशभरिका जनताको बीमा गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताइन् ।

“मधेस प्रदेशमा बीमाको पहुँच न्यून देखिएको छ । यहाँका जनताको आर्थिक तथा स्वास्थ्यको स्तर कमजोर भएकाले तीनवटै तहका सरकारले आवश्यक समन्वय गरेर प्रदेशभरिका जनताको बीमा गरिदिने परिपाटीको विकास गर्न आवश्यक देखिएको छ,” उनले भनिन्, “यसअघि कर्णाली प्रदेश सरकारले त्यहाँका सबै जनताको बीमा गरिदिएझैं यहाँ पनि सबै जनताको बीमा गर्न जरुरी देखिन्छ, त्यसका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार छ ।”

मधेस प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन । विसं २०८० को चैत मसान्तसम्म मुलुकभरिका ४३ दशमलव तीन प्रतिशत जनसङ्ख्या मात्रै बीमाको पहुँचमा छन् । अझै ५६ दशमलव सात प्रतिशत नागरिक जीवन बीमाको पहुँचभन्दा बाहिर छन् । विसं २०७५ सम्म  मुलुकभरि १७ प्रतिशत जनता बीमाको पहुँचमा थिए ।

प्राधिकरण मधेस प्रदेश कार्यालयका सहायक निर्देशक निर्मल खनालले मधेस प्रदेशका नागरिकमा बीमा साक्षरतासम्बन्धी ज्ञानको कमी र सीमावर्ती बजारमा बीमा गर्ने परम्पराले बीमाको पहुँचमा कमी आएको बताउँछन् । “मधेस प्रदेशमा उच्च गरीबी र अशिक्षाका कारण बीमा गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेको छैन,” उनले भने, “भारतीय सीमावर्ती बजारका कारण सीमापारि बीमा गर्ने परिपाटीले मधेस प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृतरूपमा बढाउन सकिएको छैन ।”

बीमाबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति, बीमकको शाखा/उपशाखामा न्यून जनशक्ति र बीमासम्बन्धी गलत बुझाइले बीमालाई प्राथमिकता नदिंदा आकर्षण बढ्न सकेको छैन ।

निप्स ननलाइफ वीरगंजका अध्यक्ष धीरज शर्माले मधेस प्रदेशका जनता गरीबीको रेखामुनि र आर्थिक अवस्था कमजोर भएकाले राज्यकै तर्पmबाट बीमा गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताए ।

निप्स लाइफ वीरगंजका अध्यक्ष प्रमोदप्रसाद शाहले बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सर्वसाधारण पर्दा बीमाप्रतिको आकर्षण बढाउन नसकिएको बताए । “अचेल बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले बीमा गर्ने सर्वसाधारण मर्कामा परेका छन् । यस्ता विकृति–विसङ्गतिलाई प्राधिकरणले न्यूनीकरण गर्नेतर्पm ध्यान केन्द्रित गर्नुपर्छ ।”

बीमा गर्नेले बीमा कम्पनीलाई बीमाको प्रिमियम तिरेपछि तत्कालै बीमाको दाबी भुक्तानी गर्नुपर्ने उनले बताए । “बीमा दाबी भुक्तानी प्रक्रियागत झन्झट र लम्बेतान प्रक्रियाले सर्वसाधारणले समस्या भोगिरहनुभएको छ । सर्वसाधारणले भोगेका समस्या समाधान गर्न हामीले आवश्यक काम गर्दै आइरहेका छौं,” शाहले भने, “बीमा कम्पनीले बीमाकर्ताबाट प्रिमियम लिएपछि भुक्तानी प्रक्रियालाई सहज बनाएर सर्वसाधारणलाई बीमाप्रति आकर्षण बढाउनेतर्पm आवश्यक कदम चाल्न जरुरी छ ।”

प्राधिकरणले बीमा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यालयका अनुसार मधेस प्रदेशमा २०८० चैत मसान्तसम्म जीवन बीमातर्पm २२५ शाखा कार्यालय रहेका छन् । त्यस्तै, निर्जीवन बीमातर्पm १२८ र माइक्रो जीवन बीमातर्पm सात र माइक्रो निर्जीवन बीमातर्पm चार गरी कुल ३६४ वटा बीमा कार्यालयका शाखा छन् । गत आवमा जीवन र निर्जीवन र अन्यतर्पm गरेर ३४० वटा शाखा कार्यालय रहेका थिए ।

बीमा कार्यालयहरूमा कुल एक हजार १६५ जनाले रोजगार पाएका छन् । प्राधिकरणका अनुसार गत आवसम्म मधेस प्रदेशमा सक्रिय बीमालेख सङ्ख्या पाँच लाख ७४ हजार ४१२ थियो । मधेस प्रदेशमा चालू आवको चैत मसान्तसम्ममा कुल बीमा शुल्क सङ्कलन रु नौ अर्ब ८४ करोड रहेको छ । ‘म्याचुरिटी’ दाबी बीमालेख सङ्ख्या नौ हजार ४७७ छ ।

मधेस प्रदेशमा ‘सरेन्डर’ बीमालेख सङ्ख्या नौ हजार ४६५ छ । कार्यालयका अनुसार चालू आवमा दाबी भुक्तानी बीमालेख सङ्ख्या १५ हजार ४५० रहेको छ । मधेस प्रदेशमा निर्जीवन सक्रिय बीमालेख सङ्ख्या दुई लाख ३८ हजार ३४१ छ । त्यस्तै, निर्जीवन बीमातर्पm कुल बीमा शुल्क सङ्कलन रु एक अर्ब ९९ करोड रहेको छ ।

मधेस प्रदेशमा कुल ‘ग्रेस क्लेम’ बीमालेख सङ्ख्या छ हजार ३९४ रहेको छ । कुल दाबी भुक्तानी बीमालेख सङ्ख्या पाँच हजार १८ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here