बरहथवा (सर्लाही), २९ वैशाख/रासस

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत काम सकिएको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनीयर भुवनेश्वर यादवले जानकारी दिए । यस खण्ड अन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बाग्मती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो । परियोजनाको जारी पहिलो चरणको काम अन्तर्गत रेलमार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनीयर यादवले बताए ।

चालू आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उनको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआवजा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेलवे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमैं काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताए । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो ।

यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण  आरम्भ गरेको थियो । पछिल्लो  समय बजेट अभावले समेत कामको  गति सुस्त बनेको उनको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here