महोत्तरी, १६ वैशाख/रासस
जन्मदर्ता नबनाउँदा ससाना बालबालिका विभिन्न अवसरबाट वञ्चित हुँदै आएका छन् । पाँच वर्षमुनिका बालबालिकालाई उपलब्ध गराइने पोषण भत्ता, छोरी शिक्षा बीमा र विद्यालय भर्नाजस्ता अवसर जन्मदर्ता नहुँदा छुट्ने गरेका छन् । खासगरी अतिविपन्न मुसहर, बाँतर, डोम, हलखोर र मेस्तर जाति समुदायमा यो समस्या बढी देखिएको छ ।

महोत्तरीको भङ्गाहा–४ रामनगर बस्तीकी हेमनी सदाका तीन छोराछोरीमा कसैको जन्मदर्ता छैन । यसैगरी, सोही वडाको पलार बस्तीका बाँतर परिवारमा जन्मदर्ता नहुँदा पाँच वर्षमुनिका बालबालिकाले पोषण कार्यक्रमको रकम पाउन सकेका छैनन् । शिक्षा र सामाजिक चेतनाको कमीले विद्यालय भर्नाबारे अभिभावकमा खासै चासो नभए पनि पोषणको रकम नपाउँदा बाँतर आमा आफ्ना छोराछोरीले नपाएको गुनासो गर्छन् । “वडा कार्यालयका कर्मचारी जन्मदर्ता देऊ भन्छन्, अहिले नबनेको हुँदा पैसा पाइएन,” छोराछोरीको पोषणभत्ता नपाएर खिन्न बनेकी पलारकी पुकारी बाँतर भन्छिन्, “अब चाहिं बच्चाको जन्मदर्ता गर्न तातेकी छु ।” महोत्तरीका मुसहर, बाँतर, डोम, हलखोर र मेस्तर जाति समुदायको बसोबासका बस्तीमा यस्ता समस्या देखिन्छन् ।

यी जाति समुदायमा गरीबी, अशिक्षा र सामाजिक चेतनाको कमी छ । गरीबी र चेतनाको कमीले शिक्षा यिनीहरूको प्राथमिकतामा पर्दैन । किशोरावस्था टेकेपछि छोराछोरीले कतै काम गरेर घरको गर्जाे टार्ने काममा सघाऊन् भन्ने अभिभावकको मुख्य ध्येय देखिन्छ । तर आर्थिक अवसर छुट्दा यिनीहरू खिन्न भने हुन्छन् । पाँच वर्षमुनिका बालबालिकालाई दिइने पोषण भत्ताको ‘पोषण’ बुझ्ने जरुरी यी ठान्दैनन् । बरु त्यो रकमले घरपरिवारको गुजारामा सहयोग पुग्ने आस भने अभिभावक गर्छन् । ‘पोषण’ भत्ताको कुरा थाहा पाएपछि भने नानीहरूको जन्मदर्ता गर्ने बढेको भङ्गाहा–४ वडा कार्यालयका सचिव तेजनारायण सिंह बताउँछन् ।

महोत्तरीसहितका मधेसमा जन्मदर्ता नबन्नुमा इच्छा, तत्परता नभएर मात्र नभई आवश्यक प्रमाण कागजातको अभाव पनि कारण देखिन्छ । बुबाआमाको नागरिकता नबनेको र बुबाआमाको विवाह दर्ता नभएको अवस्थामा ससाना नानीहरूको जन्मदर्ता गर्न कानूनी अड्चन छ । वडा कार्यालयका सचिवले जन्मदर्ता गर्नुअघि यी आवश्यक कागजात माग गर्दा देखाउन नसकेपछि धेरैले फेरि प्रयास नै गर्न छाडेका छन् । यसैगरी, कतिपय परिवारमा बुबाआमासँग यी कागजात भएपनि सोबारे चासो नराख्दा ससाना नानीहरूको जन्मदर्ता नबन्दा यिनीहरू राज्यबाट पाउने अवसरबाट वञ्चित भएका हुन् ।

महोत्तरीसहितका मधेस प्रदेशमा यस्ता बालबालिकाको सङ्ख्या झन्डै दुई लाखको हाराहारीमा रहेको राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । मधेसमा २०७८ को राष्ट्रिय जनगणना अभिलेखमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या सात लाख ९९ हजार ८९७ देखाइएको छ । यीमध्ये एक लाख ८८ हजार १७६ अर्थात् २३.४ प्रतिशतको विभिन्न कारणले जन्मदर्ता भएको छैन ।

समाजमा अशिक्षा र सामाजिक चेतनाको कमीले यसबारे देखिने बेवास्ता चिर्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र स्थानीय तहले जागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बुद्धिजीवी औंल्याउँछन् । नागरिक दायित्व र अधिकारबारेमा लगातार सुसूचित गराएपछि क्रमशः जन्मदर्ता गराउन र त्यसका लागि आवश्यक प्रमाण, कागजात जुटाउन तत्परता बढ्ने भङ्गाहा–३ का स्थानीय बासिन्दा एवं समाजशास्त्री शिवराज दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here