प्रस, परवानीपुर, २८ माघ/
पर्साको धोबिनी गाउँपालिका आइतवार पूर्णखोप घोषणा भएको छ । गापा परिसरमा आयोजित कार्यक्रममा उक्त पालिकालाई पूर्णखोप घोषणा गरिएको हो ।

पालिकालाई जिल्ला समन्वय समिति, पर्सा एवं जिल्ला खोप समन्वय समिति, पर्साका सभापतिसमेत रहेका निरञ्जनप्रसाद सोनारले गापा अध्यक्ष मदन चौहानलाई पूर्णखोप घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सभापति सोनारले पर्साका १४ वटा पालिकामध्ये १३ वटा पूर्णखोप घोषणा भएको र अब कालिकामाई गापा मात्र घोषणा हुन बाँकी रहेकोमा त्यसलाई पनि चाँडै घोषणा गर्ने तयारी भइरहेको बताए ।

गापा अध्यक्ष चौहानले पूर्णखोप घोषणा भएपछि गापाका कुनै पनि बालबालिका आगामी दिनमा
पनि पूर्णखोपको सेवाबाट नछुटून् भनेर स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

गापा अध्यक्ष चौहानको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा मुक्तिनारायण साह, गापाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, युनिसेफका प्रतिनिधि रणराज राना, स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, धोबिनी गापाका स्वास्थ्य शाखा प्रमुख सञ्जय यादव, पाँचवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वयंसेविकालगायत कर्मचारीहरूको सहभागिता थियो ।

यसअघि, माघ २६ गते जिल्ला खोप समन्वय समिति, पर्साको टोलीले गापाको विभिन्न वडाका टोल अनुगमन गर्दै सर्भे गरेपछि कोही पनि बालबालिका खोपबाट वञ्चित नभएको फेला पारेपछि माघ २८ आज पूर्णखोप घोषणा गर्ने सिफारिश गरेको थियो । सर्भेको क्रममा २३ हजार ३६६ जनसङ्ख्या रहेको सो पालिकामा ४३८ घरधुरी छन् । जसमध्ये १५ महीनामुनिका ५५९ जना र १६ देखि ५९ महीनासम्मका एक हजार ५२८ जना बालबालिका फेला परेका थिए भने दुईजना बालबालिका शून्य खोपको बच्चा भेटिएको थियो । १८५ जना बालबालिका खोप लिन छुटेको पत्ता लागेको थियो ।

सो अवसरमा पाँचवटा वडाका ४५ जना स्वयंसेविकालाई झोला, टर्च, छाता प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here