• कुमारबन्धु रुपाखेती

गणतन्त्र नेपालमा मुलुकको चौतर्फी विकासका गफका साथसाथ महिला उत्थानका हावादारी कुरा पनि चर्का स्वरमा उठ्यो । महिला उत्थानका नाममा सुकिलामुकिलाहरूका महिला वर्गले स्वर्णिम अवसरहरू पाए भने आम नेपाली महिलाहरू दीनदुखियाको जीवनयापन गर्न विवश छन् । सुकिलामुकिला वर्गकी विद्या भण्डारी, आरजु देउवा, मञ्जु खाँड, क्रान्तिकारी सर्वहारा वर्गका मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल, रेणु दाहाल, गङ्गा दाहाल, हिसिला यमी आदिको रवाफपूर्ण जिन्दगानी तपाईं हाम्रो सामु खुला किताबझैं छ ।

महिला हकहितका लागि राजनीतिक दलहरूले महिला सङ्गठनहरूको पसल चलाएको लामै अवधि भएपनि यसको परिणाम शून्य छ । पञ्चायतकालमैं युवक सङ्गठन, महिला सङ्गठन, प्रौढ सङ्गठन र बाल सङ्गठनको जन्म भएको हो । त्यतिखेरसमेत यी सङ्गठनहरू व्यवस्थाको चाहना अनुरूप सञ्चालित हुन्थे अनि अहिले त झन् महिला सङ्गठनहरू राजनीतिक दलहरूका आदेशपालक र भरियाका रूपमा देखिन्छन् ।

नेताहरूको भाषणमा कानून र संविधानमा महिला हकहित र उत्थानका रहरलाग्दा भाषाहरू प्रयोग गरिएका देखिन्छन् भने कार्यान्वयन पक्ष उराठलाग्दो देखिन्छ । राजनीतिक तह र नियुक्तिमा समेत शीर्ष नेताहरूको घरवाली–बाहरवालीहरू भारी देखिन्छन् । आफन्त नजीकका नातेदार आदि महिलाहरूको धक्कमपेल रहन्छ । स्थानीय तहमा समेत प्रमुख, उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने प्रावधानको खिल्ली उडाइएको छ । गठबन्धनको नाममा थुप्रै पालिकाहरूमा महिलाहरूको यो कानून घोषित अधिकार हरण भएको छ ।

वीरगंज महानगरपालिकामैं पुरुष मेयर, उपमेयर यसको ज्वलन्त प्रमाण हो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने हुतिहाराहरूले महिलाको दुहाई दिनु बेकार हो । प्राचीनकालमा द्रौपदीको चिरहरण गर्ने, सीता हरण गर्ने, सुग्रीवकी पत्नी अपहरण गर्ने बाली आदि सबै दोषीले सजाय पाएको देखिन्छ तर गणतन्त्र नेपालकी निर्मला पन्तहरूको आत्मा न्याय नपाएर भट्किरहेका छन् । विगतमा चर्चित वयोवृद्ध सुश्री भद्रा घलेले समेत यसबारे मुख खोलेकी थिइन् । न्याय खोज्दै देशको कुनाकुनाबाट महिलाहरू काठमाडौंको माइतीघर मण्डलामा न्याय खोज्न आउँछन् र बैरङ्ग फिर्ता जान्छन् ।

महिलालाई आमा, दिदी, जन्मदाता, पालनहार, सृष्टिकर्ता, जननी आदि भनिन्छ । तर महिला हकहितका ठूल्ठूला कुरा गर्ने हाम्रो मुलुकमा महिलाहरूमाथि हुने अत्याचार, व्यभिचार र अन्यायको ग्राफ डरलाग्दो देखिन्छ । दैनिकरूपमा महिला उत्पीडनका घटनाहरू सामुन्ने आइरहेका छन् तर सरकार र दलका भ्रातृ सङ्गठनमा परिणत भएका महिला सङ्गठनहरू मृतप्रायः साबित भइरहेका छन् । महिला हकहित र उत्थानका कुरा नेताजीहरूको आफ्नै परिवारका महिलाहरू उत्थान र हकहितमा सीमित बुझिन्छ । नुनको आवश्यकता सुनले पूरा गर्दैन भन्ने कुरा हाम्रा मसिहाहरूले खै कहिले बुझ्ने हो ?

एकजना हिन्दी कविले भन्थे–जुते घिसकर बनाई गई पहचान और जुत्ते चाट्कर बनाई गई पहचान में फरक है ।

महिला सङ्गठनहरूको उच्च ओहदामा अक्सर नेताजीहरूको भरपर्दो आसेपासे र खास महिलाहरू नै उक्लेका देखिन्छन् । महिलाहरूको रहलपहल हकहित यिनले नै दाइजोको पेवाजस्तै चट पारिदिन्छन् । महिला मात्र नभई अहिले प्रौढ, बाल, युवा सबैको हालत खस्ता पारिएको छ । त्यसैले त काखेबालक, वृद्ध आमाबुबालाई भगवान भरोसे छाडेर युवाहरू विदेश पलायन हुँदैछन् । कतिपय महिलाहरूसमेत खाडी मुलुकहरूबाट उद्धारको चित्कार लगाइरहेका देखिन्छ, सुनिन्छ । आप्mनै मुलुकमा, स्वदेशमा चित्कार नसुन्ने कनबहिरा सरकारले विदेशी भूमिमा ललकार गर्न सक्ने कसले विश्वास गर्ने ? क्यै गर्न नसके पनि हामी धूमधामले नारी दिवस भने मनाउँछौं । अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी हुन्छौं, शुभकामना दिन्छौं र आफ्नो माना पकाउँछौं । मुलुकमा अचेल कसैमा पनि जिम्मेवारी भन्ने चीज नै छैन ।

जिल्ला, गाउँँघरमा त अचेल उत्पीडनबारे प्रहरी प्रशासनमा जाँदा अबला नारीमाथि हेपाहा प्रवृत्ति देखाउँदै आलटाल गरिन्छ अनि जनप्रतिनिधि भनाउँदाहरूको दबाबमा मुद्दा नै रफादफा गराइन्छ । दक्षिण एशियामैं महिलाहरू हेपिएर, दबिएर, शोषित भएर कहालीलाग्दो जीवन बिताउन विवश देखिन्छन् । आप्mनै बलबूताबाट प्रधानन्यायाधीशसम्म बन्ने सुशीला कार्कीहरू केही हदसम्म राजनीतिक विकृति र महिला हकहितका लागि सरेआम बोल्ने स्वतन्त्र महिलाहरूलाई सलाम छ । सुशीला कार्कीहरूको आवश्यकता छ । नेपाली शोषित, पीडित जनता र महिलाको खातिर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here