काठमाडौं, २३ माघ/रासस
नेपाल दक्षिण एशियाली फूटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलवार भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जीतसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग भने भारत १–० गोलले पराजित भएको थियो । यस्तै, नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलअन्तरले विजयी भएको थियो ।

भारतसँगको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने चार गोल खान पुग्यो । भारतका लागि नेहाले दुई तथा सुलञ्जना राहुल र सिन्डी कोल्नीले एक/एक गोल गरे । खेलको ५४औं मिनेटमा भारतका लागि नेहाले पहिलो गोल गरेकी थिइन् भने ८१औं मिनेटमा उनले दोस्रो गोल गरिन् ।

यस्तै, खेलको ८५औं मिनेटमा सुलञ्जनाले भारतका लागि तेस्रो गोल गरिन् । दोस्रो हाफको अतिरिक्त समयमा सिन्डीले गोल गर्दै भारतलाई ४–० गोलको सहज जीत दिलाइन् । अब फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here