प्रस, वीरगंज, १ असार/
वीरगंज महानगरपालिकाले विभिन्न सार्वजनिक स्थल एवं भीड हुने सरकारी कार्यालय क्षेत्रमा निश्शुल्क वाइफाई उपलब्ध गराएको छ। पहिलो चरणमा महानगरका दश स्थानमा यो सेवा उपलब्ध गराइएको हो।
महानगरले इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कसँग सहकार्य गरी घण्टाघर, माईस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत् प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा निश्शुल्क वाइफाई सेवा शुरू गरेको छ।
शुक्रवार महानगरमा निश्शुल्क वाइफाई सेवा शुरू गर्दै नगरप्रमुख राजेशमान सिंहले महानगरवासीलाई प्रविधिमैत्री सेवा विस्तार गरी वीरगंजलाई डिजिटल शहरको रूपमा अघि बढाउन यस्तो गरिएको बताए। उनले महानगरलाई आइटी हब बनाउने बताए। हाल हरेक स्थानमा दुई एमबिपिएस क्षमताको इन्टरनेट शुरू गरिएको र प्रयोगकर्ताको चापको आधारमा यसलाई बढाउँदै लग्ने उनले बताए। महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिङ्क कम्युनिकेशन्स लि., वीरगंज शाखाका प्रबन्धक अरफात देवानले जानकारी दिए।