प्रस, वीरगंज, २५ चैत/
नेपाली सेनाद्वारा पर्सामा स्वास्थ्य शिविर आयोजना भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ औराहा पंचगावाँस्थित नेराप्रावि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो ।
नेपाली सेनाको वीरगंजमा रहेको श्रीजङ्ग गणको आयोजना र गापाको सहयोगमा भइरहेको शिविरको उद्घाटन नेपाली सेनाको बर्दिबासमा रहेको मध्यपूर्वी पृतना हेडक्वार्टरका पृतनापति एवं उपरथी प्रेमध्वज अधिकारीले गरेका थिए । उनले सामाजिक काम अन्तर्गत शिविर आयोजना गरिएको बताए ।
गाउँका जनतालाई सहजै स्वास्थ्य सेवा तथा निश्शुल्क औषधि वितरण गरी नेपाली सेना तथा जनताको बीचमा सामीप्यता बढाउने प्रयास भइरहेको बताए । शिविरमा गापाका छवटा वडाका करीब दुई हजारभन्दा बढी जनताको स्वास्थ्य परीक्षणको लागि सूची तयार भएकामा पाँच सयजनाको स्वास्थ्य परीक्षण भइसकेको सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादवले बताए । शिविरमा पर्साका सुरक्षा निकायका अधिकारी, स्थानीय जनप्रतिनिधि, वीरगंजका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकहरूको सहभागिता छ ।