स्ववियु निर्वाचन : ठाराब क्याम्पसमा महिला उम्मेवार न्यून

प्रस, वीरगंज, ३ चैत/
वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस र चिकित्साशास्त्र अध्ययन संस्थान (वीरगंज नर्सिङ क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थीहरू चुनावी प्रचारमा र निर्वाचन कार्यालय चुनावको तयारीमा जुटेको छ ।

ठाराब क्याम्पस स्ववियु निर्वाचनको लागि सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह गरी १४ वटा समूह चुनावी मैदानमा होमिएका छन् । यद्यपि निर्वाचन प्रयोजनको क्रममा यो क्याम्पसमा ३४ वटा समूह दर्ता भएको थियो ।

निर्वाचन अधिकृत दिलीप सिंहले प्रत्यक्ष र समानुपातिक गरी १४ वटा सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह चुनावी मैदानमा रहेको बताए । उनले समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलि, जय नेपाल विद्यार्थी सङ्घबाट राजु गुप्ता, स्वतन्त्र विद्यार्थी युनियनबाट दिलीपराज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, अनेरास्ववियुबाट पवन यादव, स्वतन्त्र युवा समूहबाट श्याम गुप्ता, नेपाल विद्यार्थी कल्याण समूहबाट धर्मेन्द्र साह कानू, नेपाल विद्यार्थी सङ्घबाट विकास मण्डल धानुक, राष्ट्रिय विद्यार्थी सङ्घबाट सुधांशु चौरसिया, अखिल क्रान्तिकारीबाट अनिल पटेल, पिस फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादव, सुधीर पटेल समूहबाट कमलेश यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट दिनेश साहको उम्मेदवारी परेको र १४ वटै समूहले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृत सिंहले बताए ।

ठाराब क्याम्पसमा अन्तिम मतदाता नामावलीमा १० हजार ७२९ मतदाता छन् । शुरूमा १० हजार ६७४ मतदाता रहेकामा थप भएर १० हजार ८०९ पुगेको र त्यसमा छानबीन हुँदा १० हजार ७२९ मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत सिंहले बताए । स्ववियुका लागि सभापति, सचिव, कोषाध्यक्ष तथा सदस्यहरू गरी प्रत्यक्षमा १३९ जनाको उम्मेदवारी परेको छ भने समानुपातिकमा १०८ गरी कुल २४७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सिंहले बताए ।

महिला उम्मेदवार न्यून
ठाराब क्याम्पसमा कुल उम्मेदवार सङ्ख्या २४७ रहेकामा महिलाको सङ्ख्या केवल ४४ मात्र देखिएको छ ।

उम्मेदवारी दर्ता सूची अनुसार प्रत्यक्षमा १७ र समानुपातिकमा २७ गरी केवल ४४ जना महिलाको उम्मेदवारी छ । दिलीप राज महतो स्वतन्त्र विद्यार्थी युनियनले प्रत्यक्षमा महिला उम्मेदवार दिएको छैन भने समानुपातिकमा कुनै पनि उम्मेदवार खडा नगरेकोले यो समूहमा महिला सङ्ख्या शून्य छ । सुधीर पटेल समूह र अनेरास्ववियुले पनि प्रत्यक्षमा महिला उम्मेदवार दिएका छैनन् तर यी दुई समूहबाट समानुपातिकमा भने महिला उम्मेदवारी परेको छ ।

प्रत्यक्षमा नेपाल विद्यार्थी समूहले मात्र महिलालाई सचिवमा उठाएको छ । बाँकी छजना कोषाध्यक्षमा र १० जना प्रत्यक्ष सदस्यमा छन् । समानुपातिकमा २७ जना महिला छन् र उनीहरूलाई पदाधिकारी, सदस्यहरूमा मनोनयन गरिने एकजना विद्यार्थी नेताले बताए ।

नेताहरूको भागबन्डामा उम्मेदवारी एकजना विद्यार्थी नेताले स्ववियु निर्वाचनमा दलगत नेताहरूको भागबन्डामा उम्मेदवार चयन गर्नुपरेकोले महिला सङ्ख्या कम भएको बताए । स्ववियु निर्वाचनमा विद्यार्थी समूहले उम्मेदवारी चयन गरेको भए संविधानतः ३३ प्रतिशत महिला सहभागिताको अवधारणा पूरा हुन्थ्यो तर १६ वर्षपछि स्ववियु निर्वाचन हुन गइरहेको र विद्यार्थीहरूले निर्वाचन खर्च पनि थेग्न नसक्ने हुँदा नेताहरूबाट आर्थिक सहयोगको आशामा उनीहरूको उम्मेदवारलाई समावेश गर्नुपरेकाले महिला उम्मेदवार कम भएको बताए ।

नेविसङ्घ आबद्ध पाँचवटा समूह
ठाराब क्याम्पसमा पहिले सरह नै यसपालिको स्ववियु निर्वाचनमा नेवि सङ्घबाट असन्तुष्ट चारवटा समूहले उम्मेदवारी दिएको छ । यसपटक आधिकारिक नेपाल विद्यार्थी सङ्घबाहेक नेविसङ्घबाट विभिन्न कारण देखाएर शुरूदेखि नेपाली काङ्ग्रेसमा आबद्ध तथा नेविसङ्घको राजनीतिमा लागेका सुधीर पटेलले आफ्नो समूह तयार गरेर उम्मेदवारी दिलाएका छन् । यसैगरी, नेपाल विद्यार्थी समूह, जय नेपाल विद्यार्थी समूह र राष्ट्रिय विद्यार्थी सङ्घले पनि नेपाल विद्यार्थी सङ्घबाट असन्तुष्ट भएर उम्मेदवारी दिएका हुन् । यी सबै समूहलाई जिल्लाका नेपाली काङ्ग्रेसका नेताहरूको प्रत्यक्ष, अप्रत्यक्ष साथ र सहयोग छ ।

वीरगंज नर्सिङ क्याम्पसमा भने चारवटा समूहले दल दर्ता गराएकामा तीनवटाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत अञ्जुकुमारी महतोले क्याम्पसमा अखिल क्रान्तिकारीबाट अध्यक्षमा कविता आचार्य, नेपाल विद्यार्थी सङ्घबाट दियांशु श्रेष्ठ र अनेरास्ववियुबाट आरजु रायले प्यानलसहित प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा रहेको बताइन् । नर्सिङमा पनि कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् र यो क्याम्पसमा २७५ जना मतदाता छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अहिले दुईवटै क्याम्पसमा विद्यार्थी तथा दलका नेताहरू चुनावको तयारीमा छन । निर्वाचनपूर्व ४८ घण्टा अघि चुनाव प्रचारप्रसार बन्द भएको छ र मौन अवधि शुरू छ । तर प्रविधिको प्रयोग गरेर उम्मेदवारहरूले अहिले पनि चुनाव प्रचारप्रसार गरिरहेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्