गौर राइस मिल जग्गा प्रकरणः प्रमलाई ज्ञापन

प्रस, रौतहट, ३ चैत/
गौर राइस मिल बचाउ सङ्घर्ष समितिले आइतवार चार सूत्रीय मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।

समितिले बुझाएको ज्ञापनमा वर्षाैंदेखि मिलको खाली जग्गामा खेलकूद, मेला, महोत्सव, धार्मिक, सामाजिक तथा राजनीतिक कार्यक्रमहरू हुँदै आएकामा गौर नगरपालिकाको कार्यपालिकाबाट जग्गा बिक्रीका लागि पहल गरिएको भन्दै विरोध गरिएको छ । नगरप्रमुख शम्भु साहलाई यसबारेमा अवगत गराउँदा ध्यान नदिएकाले विगत १० दिनदेखि निरन्तर आन्दोलन गर्नुपरेको भन्दै मिलको जग्गा सार्वजनिकीकरण नगरेको खण्डमा कडा सङ्घर्षमा उत्रने चेतावनी दिइएको छ ।

ज्ञापनमा २०६६/१२/२९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्बाट गौर राइस मिलको जग्गा अधिग्रहण गर्ने निर्णय भएको तर स्रोत सुनिश्चित नगरेर हालसम्म अधिग्रहण हुन नसकेको अवस्थामा सबै कुरा अवगत भएको नपाले जग्गा बिक्री गर्ने निर्णय गरेकोमा आपत्ति जनाइएको छ । समितिले मिलको जग्गाबारे उच्चस्तरीय समिति गठन गर्नुपर्ने, पाँच बिघा पौने २० कट्ठा जग्गा सार्वजनिक गरिनुपर्ने, देशभरका मालपोतमा जग्गा बिक्री रोक्का गरिनुपर्ने भन्दै माग सम्बोधनमा ढिलाइ भए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्