लघुवित्त र सहकारी पीडितलाई न्याय दिलाउँछु –खनाल

प्रस, वीरगंज, ५ चैत/
एमालेबाट अलग्गिएका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलवार वीरगंजमा पर्सा, बारा र रौतहटका लघुवित्तपीडितहरूको भेला गरेर उनीहरूका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

खनालले देशभर लघुवित्त तथा सहकारीविरुद्धका आन्दोलनमा सक्रिय सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी शोषणविरुद्ध सङ्घर्ष समिति, पूर्व सुरक्षा परिषद् नेपाल, वित्तीय शोषणविरुद्धको किसान मजदूर आन्दोलन, मिसन नेपाल, संयुक्त उद्योगी कृषक समूह, वैदेशिक रोजगार ठगीविरुद्ध आन्दोलन महासङ्घसँग सहकार्य गरेर लघुवित्त र सहकारी पीडितहरूलाई न्याय दिलाउन अभियान सञ्चालन गरेको बताए ।

उनले आफूले यो अभियान लोभलालचका लागि नगरेको सफाइ दिए । उनले आफू पदमा रहँदा पनि यसबारेमा सरकारको ध्यानाकर्षण गराएको तर सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले हालको अवस्थामा देशका सबैजसो भूभागका मानिसहरू यसबाट पीडित देखिएको तर वर्तमान सरकारले न्याय दिलाउन नसकेको आरोप लगाए । उनले हिमाल, पहाड र तराईका जनता लघुवित्त र सहकारीबाट पीडित रहेको अवस्थामा सरकारले यस्तो कार्य गर्ने कसूरवारहरूलाई आफ्नो गाडीमा चढाएर हौसला बढाएको आरोप पनि लगाए । उनले यसविरुद्धको आन्दोलनमा सक्रिय सबैलाई गोलबद्ध गरेर सडक आन्दोलन चर्काउने बताए । उनले यसका लागि पीडितहरू पनि अगाडि आउनुपर्ने सुझाए । उनले वर्तमान सरकारप्रति खतरा बढेको र कहिले के हुन्छ थाहा नभएको बताए । तसर्थ सरकारविरुद्ध आन्दोलन गरेर आफ्नो अधिकार सुनिश्चित गर्न उनले भेलाका सहभागीहरूसँग आग्रह पनि गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष ओमप्रकाश खनाल, कुशल केसी, शम्भु शर्मा, ललन कुर्मी, विकास अग्रवाल, उत्सव केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्