राधेश्याम पटेल, परवानीपुर, ३ चैत/
रेलमार्गबाट ठूलो मात्रामा कच्चा तेल भित्रिन शुरू भएको छ । कोलकाताको हल्दिया डक बन्दरगाहबाट आइतवार दिउँसो ३ बजे सोयाबिनको कच्चा तेल बोकेको ट्याङ्क कन्टेनर वीरगंज सुक्खा बन्दरगाह भन्सार भित्रिएको छ । बारा, जीतपुरको खानेतेल उत्पादक उद्योग, शिवशक्ति प्रालिले अर्जेन्टिनाबाट खरीद गरेको सोयाबिनको कच्चा तेल लोड २० फिटे ९० वटा ट्याङ्क कन्टेनरको ¥याक पहिलोचोटि नेपाल भित्रिएको हो । दुई हजार मेट्रिक टन कच्चा तेल रेलमार्गबाट ट्याङ्क कन्टेनरमा आयात गरेको शिवशक्ति प्रालिका प्रमुख कार्यकारी अधिकृत सतीश अग्रवालले जानकारी दिए ।
शिवशक्ति समूहका प्रबन्ध निर्देशक सन्दीप अग्रवालको पहल र श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिको सहयोगमा रेलमार्गबाट कच्चा तेल आयात गर्ने आफूहरूको लक्ष्य पूरा भएको उनले बताए । उनले कम्पनीका प्रबन्ध निर्देशक सन्दीपले पहिलेदेखि यो सेवाको लागि पहल गर्दै आएको र प्रिस्टिनका अधिकारीहरूको सहयोगले प्रयास सफल भएको बताए । उनले रेलमार्गबाट कच्चा तेल ढुवानी गर्दा सडकमार्गको तुलनामा १५ प्रतिशत ढुवानी भाडा बचत हुने बताए ।
तेस्रो मुलुकबाट खरीद गरिएको कच्चा तेल कोलकाताको बन्दरगाहमा अलपत्र पर्दा बर्सेनि करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्नुपर्ने बाध्यता खेप्दै आएका नेपाली उद्योगी–व्यवसायीलाई पछिल्लो समय कच्चा तेल ढुवानी गर्ने ट्याङ्करको उपलब्धतामा समेत समस्या भएर कच्चा तेल आयातमा कठिनाइ बेहोर्दै आएका थिए । तर ट्याङ्क कन्टेनर सेवा शुभारम्भ हुँदा अन्तर्राष्ट्रिय व्यापारमा सहजता थपिएको शिवशक्तिका महाप्रबन्धक निखिल श्रीवास्तव बताउँछन् । नेपालबाट प्रशोधित खानेतेलको निकासी भारतले फुकुवा गरेपछि नेपाली तेल उद्योगहरूले कच्चा पदार्थ विदेशबाट ल्याउने क्रम बढेको छ । पछिल्लो समय सडकमार्गबाट ढुवानी गर्न पर्याप्त मात्रामा ट्याङ्कर नपाइरहेको अवस्थामा कम्पनीले ठूलो परिमाणमा रेलमार्गबाट कच्चा तेल भिœयाउन पहल थालेको थियो । यो सेवा शुरू भएपछि नेपालका साना/ठूला तेल उद्योगलाई लाभ पुग्नेछ । ट्याङ्क कन्टेनर पूर्णरूपमा सिल भएर भित्रिने भएकाले बाटोमा तेल चोरीका घटना नहुने उनले बताए ।
श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले नेपाल–भारत एवं तेस्रो मुलुकसँगको व्यापारमा नयाँ आयाम थपिएको बताए । यो सेवाबाट आयातमा सहजता आउने उनले विश्वास व्यक्त गरे । रेलमार्गबाट तेल आयात शुरू भएकोले यसले आगामी दिनमा सुक्खा बन्दरगाह भन्सारको आयात र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने प्रमुख भन्सार अधिकृत बरुवालको भनाइ छ । यसैगरी, नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवालीले व्यापार सहजीकरणमा आजको दिन कोसेढुङ्गा साबित भएको दाबी गरे । प्रिस्टिन भ्याली वीरगंजका प्रमुख कार्यकारी अधिकृत अतुल शर्माले नेपाली व्यवसायीको सुविधाको लागि प्रिस्टिन भ्यालीले पहलकदमी गरेको र आगामी दिनमा सेवाहरू प्रभावकारी बनाउन सहयोगात्मक भूमिका निर्वाह गर्ने बताए ।