- कुमारबन्धु रुपाखेती
दीपावलीको अवसरमा लक्ष्मीपूजाका दिन न्यूयोर्कमा सरकारी सार्वजनिक बिदा तथा भर्जिनिया, न्युजर्सी, मेरील्यान्ड, पेन्सिलभेनिया राज्यहरूमा हिन्दू धर्मावलम्बीहरूले बिदा पाउने व्यवस्था छ । हिन्दू धर्मावलम्बी, खासगरी नेपाली र भारतीयहरूले घरघरमा झिलिमिली बत्तीले सिङ्गार्ने गर्दा रहेछन् । भारतीय मार्केटमा माटोको दीयो, आँप, पीपलको पात खरीद गर्न पाइन्छ । यहाँका इलेक्ट्रोनिक बत्ती तथा तिहारमा पड्काउने पटाकासमेत खुबै बिक्री हुने र यी सामानहरू मेड इन चाइना हुने गरेको छ । हिन्दूबहुल क्षेत्रको झिलिमिलीले हाम्रो आफ्नै ठाउँको स्मरण गराउँदो रहेछ । नेपालीहरू देउसी, भैलो र तिहारको गीत बजाएर रमाइलो गर्दा रहेछन् । नेपाली सङ्घसंस्थाहरूले दशैं–तिहार फूटबल प्रतियोगितासमेत गरे जसमा आठवटा नेपालीहरूको टीम सहभागी थियो ।
धनतेरसका दिन नयाँ सामान किन्ने प्रचलनलाई नेपाली र भारतीयहरूले निरन्तरता दिएका रहेछन् । पार्कहरूमा जम्मा भएर नेपालीहरूले तिहारको सामूहिक रमाइलो गर्दा रहेछन् । भाइटीकामा नेपाालीहरूले प्रयोग गर्ने सप्तरङ्गी टीकासमेत यहाँ पाइन्छ । यहाँ नेपालीहरूले सञ्चालन गरेको मासु पसलहरूमा– ‘यहाँ बेसार दलेको छालावाला मासु पाइन्छ’ भनी नेपालीहरूलाई लोभ्याएको पाइयो । यहाँ खसीको मासु सा¥है महँगो छ तर चिकेन (कुखुरा) पोर्क सा¥है सस्तो छ । भाइटीकालाई चाहिने सुपारी फूलको माला, भाइमसाला, ओखर, कटुस सबै छ्याप्छ्याप्ती पाइने । दशैंझैं नेपालीहरू इष्टमित्रको घरमा जम्मा हुने, तिहारको गीत गाउने, खानपिन गर्ने गर्दा रहेछन् । सेलरोटी त यहाँ नेपालको बिर्साउने खालको मीठो तर एकदम महँगो पाइन्छ । भर्जिनियामा नेपालीहरूले खोलेको होटल हिमालयन याकको सेलरोटी असाध्यै प्रसिद्ध रहेछ । भर्जिनियाको आसपास एक दर्जनभन्दा बढी नेपाली रेस्टुरेन्ट छन् यहाँ गुन्द्रुक, ढिडो, मस्यौंरा र थकाली खाना पनि पाइन्छ । नेपाली स्वाद खोज्दै यहाँ अमेरिकीहरूसमेत आउँदा रहेछन् । चाडपर्वमा यहाँ बसोवास गर्ने नेपालीहरूको एउटा राम्रFे कुरा रहेछ, त्यो भनेको एकै ठाउँमा नजीकैको पार्कमा जम्मा हुने, रमाइलो गर्ने । अरू बेला त कामले फुर्सद नै नहुँदो रहेछ । नेपालीहरूले जमेर लक्ष्मीपूजा र भाइटीका गरेको देख्दा सात समुद्र पारीसमेत नेपालीहरूले आफ्नो परम्परालाई धानेको देख्दा खुशी लाग्यो । नेपालमा त जात, धर्म, र महँगीले चाडपर्व सङ्कुचित हुँदै गएको आभास हुन्छ । धर्मलाई अफिम भन्ने प्रचण्ड घटस्थापनाको साइतमा नयाँ घरमा प्रवेश गर्छन् । ओलीले दोस्रोपल्ट प्रधानमन्त्री बन्दा पण्डित, पुरोहितलाई साइत देखाएर बालुवाटार प्रवेश गर्दछन्, बाबुराम, माधव नेपालहरू अचेल दशैंको रातो टीका निधारमा टिलिक्क टल्काएर हिंडछन् । हिन्दू धर्ममा यस्तालाई पाखण्डी र पातकी भनिन्छ । यिनीहरू हिन्दू धर्म विरोधी हुन् र मुलुकलाई धर्म निरपेक्षताको नाममा इसाइकरणतर्फ धकेले । तर अमेरिकामा बस्ने सबै जात, धर्मका नेपालीहरूले जमेर दशैं तिहार मनाएको देख्दा हाम्रा नेताहरू कतै विदेशीका कठपुतली त हैनन् भन्ने शङ्का– उपशङ्का उब्जिनु स्वाभाविकै हो । राजालाई अझै विष्णुको अवतार नारायण ठान्ने थुप्रै छन् र अझै गणतन्त्रवादीहरूलाई मरेको राजाको बुख्याचाले तर्साउँछ । जित्नेको हाँसो हाँसो, हार्नेको आँसु आँसु भनेको शायद यही हो । सबैलाई छठ पर्वको शुभकामना !