• सञ्जय मित्र

“कार्तिकस्य सिते पक्षे षष्ठी वै सप्तमीयुता ।

तत्र  व्रतं   प्रकुर्वीत   सर्वकामार्थसिद्धये ।।”

भविष्य पुराणमा उल्लेख गरिएको श्लोक हो यो । यसको अर्थ हुन्छ – कात्तिक महीनाको शुक्ल पक्षको षष्ठी र सप्तमी तिथिमा सर्व काम सिद्ध हुने व्रत हुन्छ ।

यत्तिकै भरमा कतिपयले छठ पर्वको पौराणिक आधार रहेको उल्लेख गर्ने गरेका छन् । यसमा यस दिन गरिने पर्वले सबै काम सिद्ध हुने बताइएको छ तर यो पर्वको नाम छठ किन रह्यो त्यसबारे बताइएको छैन ।

कुनै पनि शास्त्रमा स्पष्टरूपमा लोकमानसमा विद्यमान नामजस्तै छठ पर्व भनिएको पाइँदैैन । धेरैले पण्डित्याइँ गरेर षष्ठीको दिन हुने भएकोले अपभ्रंश भएर षष्ठीबाट छठी भएको बताउँछन् तर अन्यत्र कुनै अन्य व्यवहारमा षष्ठ वा षष्टबाट छठ भनिएको पुष्टि हुँदैन ।

अर्को मुख्य कुरो के हो भने जसरी लोकमानसलेयसलाई छठीमाईको पूजा वा पबनी भन्ने गरेका छन्, त्यसरी नै शिक्षित समुदायले यसलाई स्वीकार गर्ने गरेको पाइएको छैन । छठ पबनी भनेको सूर्य पूजा हो भन्ने अर्थ लगाउन थालिएको पाइन्छ । कालान्तरमा छठ पबनीको मौलिकतामा नै प्रहार हुने खतरा यसबाट रहेको देखिन्छ । वास्तवमा छठीमाईको पूजा मूल हो र सूर्यलाई पनि अर्घ दिइन्छ । अर्घ मूल पूजा भने होइन ।

यसको नितान्त मौलिक पक्ष यो हो कि पहिले अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र त्यसपछि उदाउँदो सूर्यलाई । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन हुन्छ ।

छठ पर्वको शुरूआत गोधन कुटाइबाट हुन्छ । कतिपयले नहाए–खाएबाट हुन्छ भन्छन् । तर यदि छठ पर्वको गुह्य विचार गर्ने हो भने गोवद्र्धन पूजा नगरी कसैले पनि छठ पर्व गरेको पाइँदैन । गोवद्र्धन पूजा सामूहिकरूपमा गरिन्छ । गाउँ वा टोलभरिका विवाहित आइमाई जो छठ व्रत गर्दछन्, तिनीहरू मात्र सामूहिक गोवद्र्धन पूजा अर्थात् गोधन कुटाइ गर्दछन् । छठ पर्वको शुरूआत भएको रौतहटमा अहिलेसम्म यही चलन छ । रौतहटबाट विश्व विस्तार हुने क्रममा छठले विस्तार पाएको तथा पाउँदै गएको अन्य क्षेत्रमा यसको स्वरूप र मान्यतामा बिस्तारै पार्थक्य स्वीकार हुँदै गएको यथार्थ हो तर छठ पर्वको प्राकट्य भएको रौतहटमा भने छठ व्रत लिनेहरूले गोधन कुटाइ अनिवार्य गर्दछन् । व्रत नलिनेले गोधन कुटाइमा आलङ्कारिक सहभागिता जनाउने गर्दछन् । यसैले गोधन कुटाइलाई छठ पर्वको शुरूआत भएको सङ्कल्पको रूपमा लिएको पाइन्छ । गोधन कुटेपछि नै व्रतालुहरू छठ पर्वमा प्रयोग गरिने चुलो निर्माण गर्छन् । गोधन कुटाइको सन्दर्भमा तिथि र वार दुवैको विचार गरिन्छ । सम्भव भएसम्म आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गोधन कुटाइ गर्नुहुँदैन ।

गोधन कुटाइको दिन बिहान चुलो बनाइन्छ । सोही चुलोमा खरनाको दिन छठको प्रसाद तयार पारिन्छ । गोधन कुटाइ हुनुको अर्थ यो पनि हो कि छठ पबनीमा प्रयोग हुने ठेकुआ तथा कसारका साथै खरनाको दिन पकाइने खिरका लागि धानको तयारी थाल्नु हो । गोधन कुटाइकै दिन गहुँ धोएर घाममा सुकाइन्छ र धान घाममा सुकाइन्छ ।

वास्तवमा यो पाँच दिनको पर्व हो । पहिलो दिन गोधन कुटाइ हुन्छ । यस दिन बिहानै झिसमिसेमैं गोधन कुटाइको रीति पूरा गरिन्छ । उज्यालो खस्नुभन्दा पहिलै व्रतालु महिलाहरूले नुहाइधुवाइ गरेर सम्भव भएसम्म शृङ्गार गरेर गोधन कुटाइ गर्छन् र छठ पर्व आरम्भ गर्दछन् ।

दोस्रो दिन अरबाअरबाइन हो । अरबाअरबाइनलाई नहाखाएके पनि भनिन्छ । यस दिन कुनै नयाँ काम हुँदैन तर धान र गहुँको तयारीका साथै चुलो तयार गर्ने काम भने हुन्छ ।

तेस्रो दिनलाई खरना भनिन्छ । तिथिको हिसाबले पञ्चमीको दिन खरना मनाइन्छ । यस दिनदेखि निराहार व्रत शुरू हुन्छ । व्रतालुहरू दिनभर निराहार व्रत बसी साँझ छठीमाईको लागि खरना पूजा गर्छन् । नयाँ चुलोमा सम्भव भएसम्म आँपको दाउरा, नभए अन्य दाउराले पनि खिर र चामलको रोटी पकाइन्छ । मूल तथा अन्य फलफूलका साथ आफ्नो श्रद्धा र भक्तिले जुरेसम्म देवताघर वा आँगनमा छठीमाताको नाममा केराको पातमा चढाइन्छ । यसलाई नेओज भनिन्छ । नेओज चढाएर पूजा गरेपछि समापन गरेर व्रतालुहरू यही प्रसाद खान्छन् जसलाई खरना भनिन्छ । खरना गरेपछि प्रसाद टोल छिमेक वा हितमित्रलाई दिने चलन पनि छ ।

चौथो दिनलाई निखण्ड भनिन्छ । यस दिनको व्रतलाई कुनै पनि मूल्यमा खण्डित गर्नुहुँदैन अर्थात् व्रत भङ्ग गर्नुहुँदैन । यस दिन निराहार बस्नुपर्छ । यस दिन त्यही चुलोमा ठेकुआ, कसारलगायत सामग्री पकाइन्छ । बाँसको सुपामा सामान सजाइन्छ र दिउँसो नजीकैको पोखरी वा नदी किनारमा स्थापित गरिएको छठघाट लगिन्छ ।

छठघाटमा श्रीसप्ता बनाइएको हुन्छ । यो भनेको माटो वा सिमेन्टको त्यो ठाउँ हो, जहाँ पूजा गरिन्छ । व्रतालुहरूले छठका सामग्री चढाउँछन् । चारैतिरबाट समूहमा बस्छन् । अनेक मङ्गलगीत हुन्छ । अनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर फेरि पहिलेकै ठाउँमा आएर बस्छन् । यदि घाटमैं बस्ने व्यवस्था मिलाइएको छ भने व्रतालु त्यहीं बस्छन् । आजभोलि घाटमैं बस्ने व्यवस्था मिलाउन थालिएको छ, रातभर जाग्राम बस्नुपर्ने मान्यताले गर्दा । यदि घाटमा बस्न सकिने अवस्था छैन भने पूजाका सम्पूर्ण सामानसहित व्रतालुहरू घर आउँछन् ।

राति कोसिया हुन्छ । भाकल हुनेले कोसिया बनाउँछन् । कसैको हात्तीवाला कोसिया हुन्छ भने कसैको विनाहात्तीवाला । कोसिया पूजामा व्रतालुहरूको अनिवार्य सहभागिता हुन्छ । जसरी अघिल्लो राति नेओज काढेर छठीमाईको पूजा गरिएको हुन्छ, त्यसैगरी कोसियापूजा पनि छठीमाईकै लागि गरिएको हुन्छ । कतिपयले सूर्यलाई अर्घ दिनुलाई मात्र छठ पर्व मान्ने वा भन्ने गरेका छन्, त्यो हुँदै होइन । कोसियापूजामा पनि अनेक गीत गाइन्छ, कथा भनिन्छ । छठीमाईसित सम्बन्धित अनेक लोककथा प्रचलनमा छन् । यदि घाटमैं बसेको छ भने कोसियापूजा घाटमैं गरिन्छ । आजभोलि छठघाटमा विभिन्न मनोरञ्जनात्मक धार्मिक प्रस्तुति गरिन थालिएका छन्, कलाकारहरू बोलाएर जागरण कार्यक्रम गर्न थालिएको छ ।

पाँचौं दिन सप्तमीको दिन हो । यस दिन छठ पर्वको समापन गरिन्छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुन्छ । यस दिनलाई पारन भनिन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि पुनः श्रीसप्ता भएको ठाउँमा व्रतालुहरू आउँछन् । श्रीसप्तालाई जलार्पण गरिन्छ । श्रीसप्तालाई जलाभिषेक गरेपछि छठपर्व समापन हुन्छ । अनि व्रतालुहरू एकले अर्कोलाई आशीर्वाद दिने क्रम शुरू हुन्छ । समापन शृङ्गार हुन्छ व्रतालु महिलाको । अनि प्रसाद साटासाट हुन्छ ।

हरेकको घरमा छठ हुन्छ भन्ने छैन । यो भाकल गरेपछि गरिने पर्व हो तर शायदै कुनै घर होला जहाँ छठ पर्व हुँदैन ।

छठ पर्व मान्न मानिस जहाँ भए पनि घर आइपुग्छ । अब त विदेश जाने चलन बढेको छ । विदेशमा हुनेहरू घर आउन भ्याउँदैनन् तर सम्भव भएसम्म छुट्टी मिलाएर भए  पनि छठका दिन घरपरिवारसितै बिताउन चाहन्छन् । छठ पबनीको घाटमा व्रतालुहरू त पुग्छन् नै, सम्पूर्ण समाज पुग्छ । गाउँका सबै मानिस दर्शन र पूजा गर्न पुगेका हुन्छन् । एक दृष्टिकोणले छठघाट सामाजिक सम्मिलनको महापर्व पनि हो ।

छठको पारन भएसँगै व्रतालुहरूले छठकै प्रसाद खाएर अन्न ग्रहण गर्दछन् । व्रतालुले भोजन गरेपछि आफन्तकहाँ छठको कोसेली पु¥याउने चलन छ । मूलतः छोरी र दिदी–बहिनीलाई छठको प्रसादको आशा हुन्छ । छठ पबनी गर्ने हरेक घरबाट छोरी–बहिनीलाई छठको कोसेली पु¥याइने गरिन्छ ।

जसले जेसुकै भने पनि यो शास्त्रीय पर्व होइन । यसमा व्रतालुहरू नै सबैथोक हुन् । भैपरि आउँदा व्रतालुहरूको सामूहिक निर्णय नै लागू हुन्छ । शास्त्रीय पर्वमा पूजाको निर्धारित विधिविधान हुन्छ तर छठ पर्वको विधिविधान लोकसम्मत हो । यस कारण यसको विस्तारसँगै स्थानीयता अङ्गीकार हुँदै गएको छ । यसको मान्यतामा पनि फरक पर्दै गएको हुनुपर्छ । यसैले पनि यो लोक आस्थाको महापर्व हो ।

अझै पनि पबनी (पर्व) भनेपछि छठ नै बुझ्ने समाज छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here