प्रस, महोत्तरी, २० पुस/
सामाजिक सुरक्षा माग गर्दै महोत्तरीको गौशाला नगरपालिका वडा नं ११ को वडा कार्यालयमा ज्येष्ठ नागरिकले ताला लगाएका छन्। तीन/तीन महीनामा पाउनुपर्ने भत्ता छ महीना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नागरिकहरूले मङ्गलवार वडा कार्यालयमा ताला लगाएका हुन्।
सो वडाका ज्येष्ठ नागरिक र एकल महिलाले बितेको साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएको बताएका छन्। दशैं, तिहार, छठ पर्वमा नपाएको भत्ता कठ्याङ्ग्रिदो जाडोमा समेत नपाउने भएपछि अति नै पीडा भएकोले आफूहरूले तालाबन्दी गरेको ७८ वर्षीय रामनारायाण महतोले बताए। भत्ता नपाउँदा चीसोमा न्यानो कपडा र औषधिसमेत किन्न नपाएको उनले गुनासो गरे।
वडा कार्यालयमा तालाबन्दी गरेपछि ज्येष्ठ नागरिकहरूले नाराबाजीसमेत गरेका थिए। सो सम्बन्धमा कार्यवाहक वडाध्यक्ष रामगुलाम महतोले भत्ता निकासीका लागि नेपाल बैंक लि., गौशाला शाखा र नगरपालिकासँग समन्वय भइरहे पनि बैंकको कमजोरीका कारण समयमा भत्ता उपलब्ध हुन नसकेको बताए। “नगरपालिकाबाट रकम बैंकमा गइसकेको छ भन्छ, बैंकले प्रक्रिया मिलाउँदै छौं, दिन्छौं भनेर टारिरहेको छ,” कावा वडाध्यक्ष महतोको भनाइ छ। सबै वडाको सामाजिक सुरक्षा भत्ताबापतको रकम नगरपालिकाबाट बैंकको खातामा पठाइसकिएको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापाले बताए। सोबारे जतिसक्दो छिटो बुझेर लाभकारी समुदायलाई खबर गर्ने थापाले आश्वासन दिएका छन्।