प्रस, महोत्तरी, २० पुस/
नेपाली काङ्ग्रेस, महोत्तरीले पुस २७ गते केन्द्रले निर्धारण गरेको जिल्ला अधिवेशन नमान्ने भएको छ। क्षेत्र नं ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट जिल्ला अधिवेशनको मिति निर्धारण गरिएको भन्दै नेका, महोत्तरीले असन्तुष्टि जनाएको हो।
नेका, महोत्तरीले मङ्गलवार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र पठाएको छ। पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ।
जिल्ला निर्वाचन क्षेत्र नं ३ को विवाद नसुल्झाइ जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु विधिविधान विपरीत र दुःखद भएको जिल्लाका पूर्वमहासचिव बजरङ्ग नेपालीले बताए। उनले पार्टी पद्धतिको रक्षाका लागि आफूहरू अनिश्चितकालीन भोक हडताल गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन्।
नेता नेपालीले मङ्गलवार नेका, महोत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन्। ज्ञापनपत्रमा उनले विवादित ठाउँहरूको विवाद नटुङ्ग्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरेका छन्। नेता नेपालीको किसान आन्दोलन तथा जनमत पार्टीको हडताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न नेका, महोत्तरीसँग माग गरेका छन्।