– प्रकाश सिलवाल
काठमाडौं, ५ कात्तिक/रासस
कोभिड–१९ महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट वञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्ष प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् ।
महामारीपछि अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै बालबालिका तथा युवामा डर, क्रोध र भविष्यप्रति चिन्ता अनुभव भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा पहिलो र दोस्रो लहरको कोरोना रोकथाम गर्न गरिएको बन्दाबन्दीले गर्दा ७४ हप्तासम्म विद्यालय पूर्ण र आंशिक बन्द भइसकेका छन्, यो विश्वका कोभिड प्रभावित मुलुकको तुलनामा बढी भएको अध्ययनले देखाएको छ ।
नियमित र प्रत्यक्ष विद्यालय सञ्चालन नहुँदा डिजिटल जोखिममा विशेषतः किशोरीहरू पर्ने गरेका छन् । कोभिड–१९ पछि किशोरी अनलाइनको दुव्र्यवहारमा परेका तथा बालविवाह, बालहिंसाका घटना बाहिरिएका छन् । एकातिर अनलाइन शिक्षामा सबै बालबालिकाको पहुँच छैन भने अर्कोतिर अनलाइनको पहुँचमा भएका बालबालिका डिजिटल लतमा फस्न पुगेका छन् । यसले उनीहरूमा मनोसामाजिक असरसमेत पर्ने गरेको छ । यही अक्टोबर ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदा डिजिटल जोखिममा बालिकाबारे चिन्ता जाहेर गरिएको थियो ।
त्रिविका सहप्राध्यापक डा भगवान अर्यालले कोभिड–१९ को अत्यधिक सङ्क्रमण देखिएका राष्ट्रमा समेत विद्यालय यति लामो समयसम्म बन्द नभएको बताए । सुविधाविहीन बालबालिकाको अनलाइन शिक्षामा पहुँच नभएकोले सिकाइमा नकारात्मक प्रभाव पर्नाका साथै सबै विद्यार्थीमा सिकेका कुरा धेरै दिन सम्झिन सक्ने क्षमतामा कमी भएको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ले बन्दाबन्दीपछि विद्यालय खुले पनि विश्वभरि ११७ मिलियन विद्यार्थी अझै विद्यालय बाहिर रहेको विवरण सन् २०२० मा प्रकाशमा ल्याएको थियो । विवरण अनुसार नेपालमा झन्डै ९० लाख विद्यार्थीमा शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो । यसमध्ये ११ प्रतिशत पूर्वप्राथमिक, २८ प्रतिशत प्राथमिक, ३९ प्रतिशत माध्यमिक र ५ प्रतिशत उच्च तहका विद्यार्थी थिए ।
महामारीले नेपालका विद्यालय तहका ७४ लाख विद्यार्थीको सिकाइ सम्बन्धमा तत्कालीन जोखिम सिर्जना गरेको मानिएको छ । यसबाहेक लामो समयसम्म विद्यालय बन्द रहने, गतिशीलता बन्देज हुने र घरमैं सीमित हुने भएकाले विद्यार्थीको स्वास्थ्यका साथै परिवार तथा समुदायलाई पनि थप तनाव भई नकारात्मक असर सिर्जना गरेको युनाइटेड वल्र्ड स्कूल्सको प्रतिवेदन २०२० ले जनाएको छ ।
निम्न वर्गीय अभिभावकले बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउने तथा बालिका विद्यार्थीले कामकाजमा बढी संलग्न हुनुपर्ने जोखिम देखिएको ती अध्ययनले देखाएको छ। खासगरी बालविवाह र छिटो गर्भधारण, घरेलु हिंसा र शोषण, लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र हैरानी, साइबर बुलिइङ तथा अपराधका घटना पनि कोभिडपछि देखिएका छन् ।
विपन्न र सीमान्तकृत परिवारका बालबालिका दिवाखाजा कार्यक्रमबाट वञ्चित हुनुपर्दा पोषण स्वास्थ्यमैं जोखिम उत्पन्न भई पोषण शिक्षाको अभाव, विद्यालयबाट प्राप्त हुने स्वास्थ्य सेवाबाट वञ्चिति, अभिभावकको घरमा शिक्षा दिने क्षमतामा कमीजस्ता समस्या पनि देखिएका छन् ।
काठमाडौं उपत्यकाका सामुदायिक, संस्थागत र गुठी विद्यालयका व्यवस्थापक, प्रधानाध्यापक र सहायक–प्रधानाध्यापकबीच गरिएको एक अध्ययनले २८ प्रतिशत विद्यालयले मात्र विद्यालय पुनः सञ्चालन गर्ने लिखित प्रोटोकल तयारी गरेकोमा लगभग ५० प्रतिशत विद्यालय कक्षाकोठामा शिक्षण शुरू गर्न पूर्ण तयार भएका र ४७ प्रतिशत विद्यालय केही हदसम्म खुल्न आतुर भएको पहिचान गरेको छ ।
त्यसमा २५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाको सिकाइलाई कुनै समय दिन नसक्ने पाइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्साल सामाजिक र सांस्कृतिक कारणले छात्रा–शिक्षा निरन्तरतामा चुनौती पैदा गरेको स्थितिमा कोभिड–१९ को महामारीले थप चुनौती थपिदिएको ठान्छन् । उनले सबै बालबालिकालाई निरन्तर सिकाइ क्रियाकलापमा जोड्न सरोकार भएका पक्ष, समुदाय र अभिभावको सशक्त भूमिका आवश्यक भएको बताए ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १७ प्रतिशत किशोरी गर्भवती हुने गर्छन् । ग्रामीण क्षेत्रमा यो दर २२ प्रतिशत रहेको छ भने शहरी क्षेत्रमा १३ प्रतिशत छ ।
किशोरकिशोरी स्वास्थ्य व्यवहार सर्वेक्षण सन् २०१७ ले विद्यालय गइरहेका किशोरीमध्ये ४० प्रतिशत महीनावारीका कारण कम्तीमा एक दिन विद्यालयमा अनुपस्थित हुन्छन् । बलात्कारका वार्षिक करीब २०० घटनामध्ये ६८ प्रतिशत बालिका नै हुने गरेका छन् । यस्ता घटनाबाट बालिका तथा किशोरीको पढाइमा असर परिरहेको हुन्छ ।