कात्तिक स्नान ः सामाजिक दृष्टिकोण

0
  • सञ्जय मित्र

कोजाग्रत पूर्णिमाको दिनदेखि कात्तिक पूर्णिमासम्म हरेक दिन गरिने स्नान कात्तिक–स्नान हो । कात्तिक स्नान एकाबिहानै गरिन्छ । परम्परागत मान्यता अनुसार कात्तिक स्नान अन्य महीनाको स्नानभन्दा भिन्न हुन्छ । यो स्नान झलमल्ल उज्यालो हुनुभन्दा पहिले नै गरिसक्नुपर्दछ । महीनाभर यसै समयमा गर्नुपर्दछ । कात्तिक महीनामा एकाबिहानै गरिने स्नान नै कात्तिक–स्नान हो ।

कात्तिक स्नान संस्कृतिको रूपमा रहेको छ । अझै पनि ग्रामीण तथा काँठ समाजमा यसको धेरै महŒव धेरै छ । हुनत यसको महŒव शहरी नागरिकलाई पनि हो तर ग्रामीण तथा काँठका बासिन्दाले यसको महŒव अझै पनि बुझिरहेका छन् र धेरै हदसम्म कात्तिक स्नान गरिरहेका पनि छन् ।

कात्तिक स्नान मुख्यतया नदीमा गर्नुपर्दछ भन्ने परम्परागत मान्यता रहेको छ । नदीमा नै गरिनुपर्दछ भन्ने होइन । जसरी कतिपय मान्यता युगानुकूल परिवर्तन हुँदै आएका छन्, कात्तिक स्नानमा पनि यो परिवर्तन लागू भएको स्पष्ट देखिन्छ । हेर्दाहेर्दै पहिले नदीमैं गर्नुपर्ने स्नान विस्तारै कलधारा तथा अब पानीधारामा पनि हुन थालेको छ । कात्तिक स्नान गर्नेहरूले सामाजिक स्वीकृति दिएका छन् । अब नदीमैं गर्नुपर्छ भन्ने जरूरी छैन ।

परम्परा अनुसार भने समूहमा नदी पुगेर कात्तिक स्नान गर्नुपर्दछ । अब घरमा एक्लै हरेक बिहान नुहाए पुग्छ । तर समाजमा अहिले पनि मान्यता छ कि सूर्याेदयपूर्व नै नुहाउनु पर्छ । सूर्योदयपश्चात् गरिने स्नान कात्तिक स्नान होइन । यदि कोही नियमितरूपमा बिहान झिसमिसेमा नुहाउँछ र एक दिन कुनै कारणले सूर्योदय भयो भने उनले थालेको कात्तिक–स्नान भङ्ग हुन्छ । अब गर्दा पनि हुन्छ र न गर्दा पनि हुन्छ ।

यसरी कात्तिक–स्नान भङ्ग हुने कुरो आस्थासित जोडिएको देखिन्छ । आस्था भनेको धर्म पनि हो । धार्मिक मान्यतामा कात्तिक–स्नान एउटा व्रत हो । यसबाट पुण्य प्राप्ति हुन्छ । र पुण्य प्राप्तिका लागि धेरै मानिसले अझै पनि कात्तिक स्नान नियम र विधिपूर्वक गर्दछन् ।

तर स्नानप्रतिको दृष्टिकोण र कम्तीमा बिहान झिसमिसेमा नदी पुगेर स्नान गर्नुपर्ने सामाजिक परम्परागत मान्यतालाई हेर्ने हो भने यसभित्र ठूलो रहस्य रहेको देखिन्छ । मानव जीवनको मुख्य उद्देश्य धर्म, अर्थ, काम र मोक्षसित यसको सम्बन्ध रहेको बुझ्न सकिन्छ ।

कात्तिक–स्नानको समाजमा धार्मिक महŒव पनि रहेको छ । विशेषतः मानिसले धर्म वा पुण्य प्राप्तिका लागि कात्तिक स्नान गर्दछन् । एकाबिहानै नुहाउने र विभिन्न देवदेवीको पूजा गर्ने गर्दछन् । उसै पनि समाजमा के मान्यता रहेको छ भने नागपञ्चमीको दिनदेखि अनेक व्रत शुरू हुन्छ र कात्तिकको छठसँगै समाप्त हुन्छ । कात्तिक स्नान यही अन्तिम महीनाको स्नान हो ।

यस महीनामा तराई मधेसका दुई ठूला पर्वहरू दीपावली र छठ मनाइन्छ । उसै पनि जुन परिवारमा छठ पबनी हुन्छ, त्यस परिवारका अधिकांश सदस्यले माछामासु खाँदैनन् वा घरमा माछामासु लैजाँदैनन् । कात्तिक स्नान गर्नेले पनि माछामासु खाँदैनन् । यसरी धार्मिक महŒवसित यसको सम्बन्ध स्थापित हुन पुग्दछ । साथै कात्तिक महीनाभरि शाकाहारी भोजन गर्नुको अर्थ यो पनि हो कि साŒिवक भोजनबाट पहिले मानिस कसरी जीवन निर्वाह गर्दथे, त्यसको व्यावहारिक अनुभूति गर्नु । साŒिवक जीवनको आनन्द लिनु पनि यसको विशिष्ट पाटो भएको देखिन्छ ।

माछामासु तुलनात्मकरूपमा महँगो हुन्छ । एक महीनासम्म कात्तिक–स्नान गर्नेले माछामासु नखाँदा थोरै भए पनि आर्थिक बचत हुन्छ । यसले सोझो आर्थिक सम्बन्ध राख्दछ । अझ यसलाई सामाजिक दृष्टिकोणले विचार गर्ने हो भने फरक विश्लेषण हुन्छ । मान्यता रहेको छ कि कात्तिक–स्नान झिसमिसे अँध्यारोमैं सिध्याइसक्नुपर्छ ।

यसको अर्थ यो पनि हो कि हरेक दिन गरिने सामान्य दैनिकीदेखि स्नान पूजा सबै झिसमिसे अँध्यारोमैं अर्थात् धरतीमा राम्ररी उज्यालो आउनुभन्दा पहिले नै सिध्याउनु भनेको सम्पूर्णरूपले कामको लागि आफूलाई तयार पार्नु हो । सम्पूर्ण अल्छीपनामाथि विजय प्राप्त गर्नु हो । स्नान गरेपछि सुत्नुहुँदैन भन्ने मान्यता छँदैछ । यसको अर्थ हो कि स्नान गरेपछि जसलाई जे काम गर्नुछ त्यसको लागि समय पर्याप्त हुन्छ । यदि दिनभर काम गर्ने पर्याप्त समय हुन्छ भने काममा सफलता प्राप्त हुन्छ । पर्याप्त समयभर काम गर्दा प्रतिफल राम्रो हुन्छ । यदि आफ्नो परिश्रम आयसित सम्बन्धित छ भने बढी आर्थिक लाभ लिन सकिन्छ ।

यदि स्वास्थ्यलाई पनि जोडेर हेर्ने हो भने हरेक दिन नुहाउनु स्वास्थ्यको दृष्टिकोणले निकै उचित मानिन्छ । उसै पनि सूर्यको उज्यालोले धरती स्पर्श गर्नुभन्दा पहिले मानिस उठ्नु आधुनिक विज्ञान तथा परम्परागत शास्त्र सबैले स्वीकार गरेको कुरो हो । झिसमिसे अँध्यारोमैं स्नान पूजा सिध्याउनुको अर्थ हो समयमा सुत्ने र समयमा उठ्ने काम भइरहेको छ । छिटो सुत्ने र छिटो उठ्ने गर्नुको अर्थ हो अल्छी नहुनु ।

सामान्यतया कात्तिक महीनादेखि जाडो शुरू हुन थाल्छ । बिस्तारै दिनको अवधि सानो र रातको अवधि ठूलो हुँदै जान्छ । दिन र रातको अवधि ठूलो हुँदै जाँदा र जाडोले अल्छी थप्दै लैजाँदा बिहान अबेरसम्म सुत्न मन लाग्छ । हरेक दिन कुनै निश्चित वा गर्नैपर्ने काम छैन भने मानिसलाई बिहान उठ्न अल्छी लाग्ने हुन्छ । यस अवस्थामा हरेक बिहान झिसमिसेमैं नुहाउनैपर्ने तालिका बनाउँदा अल्छी नलाग्ने र अबेरसम्म सुत्न ध्यान जाँदैन । बिहानको स्वच्छ हावामा सक्रिय सास लिन पाइन्छ ।

अझै पनि ग्रामीण मान्यता के छ भने सम्भव भएसम्म नदीमा स्नान गर्नुपर्छ । यो कात्तिक स्नानको सन्दर्भ हो । यदि स्नान बिहान झिसमिसेमैं गर्नुछ भने घरबाट नदी वा खोलासम्म हिंडेर जानु हो । र त्यो भनेको बिहानको हिंडाइ पूरा हुनु पनि हो । बिहानको स्वच्छ हावामा हिंडाइ पूरा गर्न पनि कतिपय मानिस कात्तिक–स्नान खोलामैं गएर गर्दछन् ।

कात्तिक महीनामा खोला वा नदी सफा पनि हुन्छ । अझ बिहानको पानी फोहोर पनि हुँदैन । नदीसित हाम्रो सभ्यता र संस्कृति जोडिएको छ भन्ने कुराको प्रमाण पनि हुन जान्छ । पहिलेपहिले मानिस कसरी एकाबिहानै दैनिक कर्मबाट निवृत्त हुन्थे भन्ने व्यावहारिक उदाहरण आफैं बनेर भोगाइबाट अनुभव प्राप्त गर्दछन् ।

कात्तिक–स्नानको चलनको पछाडि हाम्रो संस्कृतिले विभिन्न उद्देश्य राखेको देखिन्छ । यसरी विभिन्न उद्देश्य पूरा गर्न धार्मिक जामा पहिराइएको पनि हुन सक्छ । धार्मिक उद्देश्य प्राप्त गर्न धार्मिक कर्मसित कात्तिक–स्नानलाई जोड्नु पनि अत्यन्त स्वाभाविक हो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here