काठमाडौं, २३ भदौ/रासस

पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लोपटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

गएको २० दिनयताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करीब २५ प्रतिशतले घटेको देखिएको छ । साथै निको हुने दरमा पनि करीब यही अनुपात देखिन्छ ।

सरकारले जोमिखमा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरूमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत सङ्क्रमण हुने गरेको पाइएको भएपनि अहिले त्यसमा कमी आएको छ । उनका अनुसार अहिले पिसिआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालले जनाएका छन् । सङ्क्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको बताए । उनका अनुसार शुक्रराजमा सघन उपचार कक्षमा १३ जना, एचडियूमा १५ जना, आकस्मिक कक्षमा तीनजना र क्याबिनमा तीनजना रहेका छन् । शुक्रराजमा अक्सिजन चाहिने बिरामीलाई मात्र भर्ना गरिन्छ ।

उनले धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको बताए । “पहिले दैनिक २५ देखि ३० जना बिरामी आकस्मिक कक्षमा आउने गर्दथे,” उनले भने, “तर अहिले त्यो सङ्ख्या घटेर दैनिक बढीमा १० जना बिरामी उपचार गर्न आएका छन् ।” उनले समुदाय नै सङ्क्रमण भएको र ती निको भएका व्यक्तिमा एन्टिबडी बनेकाले पनि सङ्क्रमणले आक्रमण नगरेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुर्ई हजार ९३६ मा सङ्क्रमण देखिएकामा हिजो मङ्गलवार भदौ २२ गते पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारीसाधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएसँगै सङ्क्रमण बढेको थियो ।

नेपालमा गरिएको सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको छ । यस्तै, एक मात्रा खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्रायः सबैले खोप लगाइसकेका छन् ।

नेपालमा दैनिक एक लाखजनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरीद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरूमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसलाई प्राथमिकता दिएर खोप भिœयाएको छ ।

सरुवारोग विशेषज्ञ डा सागर राजभण्डारीले खोप लगाएका र जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले सङ्क्रमण कम भएको बताए । उनले हरेक दिन सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्न सक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने सुझाव पनि दिए ।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सङ्क्रमण दर नबढेको बताए । “अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको छ,” उनले भने, “प्रायः सबैले खोप लगाइसकेको र जनस्वास्थ्यका मापदण्ड लागू गरेका हुनाले सङ्क्रमण बढेको छैन ।”

गत फागुन र चैतमा पनि सङ्क्रमण बढेको थिएन । वैशाखमा सङ्क्रमणको दोस्रो लहर आएपछि सङ्क्रमण बढेको थियो । नेपालमा शुरूदेखि अहिलेसम्मको सङ्क्रमण दर भने १९.३ प्रतिशत रहेको छ ।

सरकारले असोजसम्म कुल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here