काठमाडौं, ९ भदौ/रासस
आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजीक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिन अगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ।
विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजीक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकोले सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना छ। प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।